अन्तर्राष्ट्रिय

प्रचण्ड, मोदी र सी जीन पिङबीच त्रिपक्षीय भेटवार्ता

भारत (गोवा)– नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ । ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति पिङबीच भेटबार्ता भएको हो ।

भेट बार्तामा नेपालका प्रधानमन्त्री प्रचण्डले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रीदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराउनु भएको थियो । ‘नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामी बिशाल छिमेकी भारत र चीनको बीचमा छौं ।

हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीबारे विषय महत्व दिएर कुरा राखें । भारतका प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो ।’
भेटमा प्रधानमन्त्री प्रचण्डले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताउनुभयो । प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताउनुभयो ।

भेटका अवसरमा चीनियाँ राष्ट्रपति पिङले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताउनु भयो ।

पिङले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको मुद्धा महत्वपूर्ण रहेको र त्यसमा चीन सकारात्मक रहेको बताउनुभयो । पिङले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनियाँ राष्ट्रपति पिङको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताउनुभयो । सो अवसरमा मोदीले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको जानकारी दिनुभएको थियो ।

नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिको भेटपछि भएको त्रीपक्षीय बार्ताले नेपाल, भारत र चीनबीच युगिन सम्बन्ध स्थापित गर्न विशेष भूमिका खेल्नसक्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल जसरी भारत र चीनको बीचमा छ, बार्ताको क्रममा पनि भारत र चीनका बीचमा नेपाल थियो । हाम्रो छलफल निकै सौहार्द रह्यो ।

नेपालले उठाएको रणनीतिक साझेदारीको प्रस्तावमा दुवै नेताहरु उत्साहित भएर समर्थन गर्नुभएको भन्दै प्रचण्डको निजी साइटले समाचार लेखेको छ ।