पु.समाचार

हिन्दु राष्ट्रको पक्षमा बोले कांग्रेस महामन्त्री कोइराला

काठमाण्डौ । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले धर्मको विवाद टुंग्याउन जनमतसंग्रह उपयुक्त विधि भएको बताएका छन् । हिन्दू राज्य कायम गर्न जनमतसंग्रहको माग बढ्नु सकारात्मक रहेको उनको भनाइ छ ।

‘मलाई लाग्छ, यो इस्यु (हिन्दूराष्ट्र) अहिले उठेको छैन । तपाईंहरूले हिन्दूधर्मको विषयमा सोधिहाल्नुभयो । न कुनै धर्मसापेक्ष हुन्छ न कुनै धर्मनिरपेक्ष नै हुन्छ । न कुनै धर्म शून्य हुन्छ । धर्म त स्वतन्त्र हुन्छ । कम्युनिस्टले धर्मको शून्यताको कुरा गर्छन् । तर, कांग्रेसले धार्मिक स्वतन्त्रता भन्दै आएको हो,’ नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘यो मेरो व्यक्तिगत धारणा हो । तर, धर्मनिरपेक्षताको विषयमा उठेको विवाद टुंग्याउने उपयुक्त विधि जनमतसंग्रह नै हो ।’

तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई धर्मनिरपेक्षतामा जानुपर्ने बाध्यात्मक अवस्था आइपरेको पनि शशांकले बताए । आफू जनमतसंग्रहकै पक्षमा भए पनि यसलाई पार्टीले कसरी लिन्छ र धारणा बनाउँछ भन्ने पार्टीकै विषय भएको उनले बताए । आफू हिन्दु बाहुल्य क्षेत्रबाट चुनाव लडेको भन्दै उनले हिन्दु राज्यप्रति सबै ‘लोयल’ भएकाले आफू पनि लोयल भएको बताएका थिए । तर, संविधान कार्यान्वयन गर्न नसके मुलुक थप समस्यामा फस्ने उनको भनाइ थियो ।

कांंग्रेसले औपचारिक नीति नबनाए पनि हिन्दु राष्ट्रका विषयमा अभिव्यक्ति दिने नेता डा.शशांक १३औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए । अर्का नेता शेखर कोइराला २५ खुल्ला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । हिन्दु राज्यकै अभियान चलाएका नेता खुमबहादुर खड्का पनि २५ खुला केन्द्रीय सदस्यमा दोस्रो धेरै मत ल्याएर निर्वाचित भएका थिए भन्दै आइतबारको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।