प्रवास

अस्ट्रेलियामा ‘उत्कृष्ट विद्यार्थी’ पुरस्कार पाउने बिजय साप्कोटालाई बधाई !

अष्ट्रेलिया । अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई यहाँको सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ । सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको हो ।

यहाँको सरकारले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्येबाट छनौट गरेर उक्त पुरस्कार दिने गर्दछ । अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने उक्त पुरस्कार सबैभन्दा उच्च तहको मानिन्छ । इन्जिनियरिङ बिषय अध्ययन गरिरहेका सापकोटालाई नेतृत्वदायी भूमिका निर्वाह गरेको, बहुसांस्कृतिक समाज निर्माणका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरेको हो । सापकोटाले एक नेपाली विद्यार्थी भएर उच्च तहको सम्मान पाउँदा गौरवान्वित महसुस भएको बताए । ‘यो मेरो जीवनकै अविस्मरणिय दिन हो,’ पुरस्कार पाएपछि कान्तिपुरसँग कुराकानी गर्दै सापकोटाले भने, ‘यो पुरस्कारले मलाई मात्र नभएर अस्ट्रेलियामा अध्ययनरत सबै नेपाली विद्यार्थीहरु र आफ्नो देश नेपाललाई अझ चिनाउन मद्धत पुगेको छ ।’

उच्च शिक्षा अध्ययन अन्तरगतको विधामा सापकोटासँगै उक्त पुरस्कार बंगलादेशकी विद्यार्थी सुमाया सुल्तानले समेत पाएकी छिन् ।

सापकोटाले न्यू साउथ वेल्समा करिब २ सय देशका अनुमानित २ लाख अन्तर्राष्ट्रिय बिद्यार्थीहरुमध्येबाट आफूले उक्त पुरस्कार पाउनु सम्पूर्ण नेपाली विद्यार्थीहरुको लागि खुसीको कुरा भएको बताए । उनलाई एक कार्यक्रममा ब्यवसाय तथा पर्यटनमन्त्री स्टट एरिसले प्रमाणपत्रसहित सम्मानित गरे । शिक्षा विभागका विभिन्न अधिकारी र बिद्यार्थीहरु सम्मिलित कार्यक्रममा उनले आफूलाई यो सम्मानले अझ केही गर्न हौसला मिलेको बताएका थिए ।

३ बर्षअघि विद्यार्थी भिषामा चितवनबाट सिड्नी आएका उनी सोही विश्वविद्यालयको काउन्सिलको सदस्य छन् भने नेपाली विद्यार्थी संस्थाको अध्यक्ष पनि हुन् । उनकै पहलमा नेपालमा भूकम्प गएको बेला करिब ४० हजार डलर सहयोग रकम समेत संकलन गरिएको समेत आजको कान्तिपूरमा खबर छ ।