विचार/ब्लग

नकचरो राजनीति

-प्रकाश गिरी
काले ४७ मा जन्म्यो । ४६ को राजनीतिले उसलाई आमाको पेटमा राख्नुबाहेक केही गरेन । ५–६ वर्षको हुँदा बाबुका पछि लागेर हलगोरु खेद्धै कालेले सुन्यो, ‘मदन भण्डारी मरेछन्…, पक्कै विदेशीको षडयन्त्र हो । अब देश सकियो ।’
कालेको बाल मस्तिष्कमा डर पस्यो अनि तर्सिदै बाउलाई सोध्यो, ‘बा, देश कसरी सकिन्छ ?’ जुठे दाइसँग उत्तर थिएन । बुढा खिस्स हाँसे ।
समय वित्दै गयो । गोरुका पछाडि नाचेर थाकेका जुठे दाईले छोरालाई आफुजस्तो हली हुनु नपरोस भनेर जेनतेन हाइस्कुल पठाए । ६ कक्षामा नपुग्दै कालेले फेरि सुन्यो, ‘राजपरिवार मासिएछन्…पक्कै विदेशीको षडयन्त्र…! अब देश सकियो । ’
राष्ट्रिय शोकमा कालेको विद्यालय छुट्टि भयो । घर फर्किने वितिक्कै फेरि बाउलाई उसले सोध्यो, ‘बा देश कसरी सकिन्छ ?’ त्रसित भएर बसेका जुठे दाई मौन नै हराइरहे ।
लौ सदरमुकाम हाने रे…२४ जजना मरेछन्…पुल भत्काएछन्…नाइकेलाई पक्रेछन्…, कालेले १२ वर्षको हुँदा फेरि सुन्यो, ‘अब यतिकै गोला बारुद्ध हो भने देश सकियो ।’
एकदिन कालेको विद्यालय कब्जा भो भन्ने हल्ला चल्यो, काले एक हप्ता हरायो । एकदिन साँझमा सुटुक्क घर फर्केपछि तर्सिएका बाउलाई फेरि सोध्यो, ‘तिमीले बनाएको मठ मन्दिरमा मैले नरिवल फुटाउने समय आउन लागेको छ रे….तैपनि देश सकियो भन्छन् बा…लौ तिमीनै भन अब देश कसरी सकिन्छ ?’ विचरा बुढाले आफ्नो आफ्नो कलिलो कालेका छिप्पिएका कुरा बुझ्न सकेनन् । फेरि मौन रहे ।
काले अब कमरेड कालु नेपाली भयो, युद्धमा गयो । काकाको छोरा पल्टने नेपालीलाई गोली ठोक्न सकेन उसले । फेरि सम्झायो समानताको नारा…रगत उम्लियो…अनि ड्याम्म !
‘राजा झुके, अब जनताको छोरा राष्ट्रपति हुन पाउने रे !…देशमा अब नयाँ कम्पनी खुल्छन्, मेट्रो चल्छ…’ कालेले सुन्यो, ‘अब देश बन्यो ।’ आफैंलाई राष्ट्रपतिको कुर्सीमा कल्पेर काले फुरुङग भयो । युद्धका आतंककारीहरु त राष्ट्रनेता कहलिए त लाखौंका बीचमा हराएको कालेलाई कसैले खोजेनन् । न त सात कक्षा पनि पास नभएको उ आरक्षणमा नै अटाउन सक्यो ।
बरु बाबुले विवाह गराइदिए । दोजिया श्रीमती छाडेर काले एक्काइसमा खाडी छिर्यो । कालेको घरमा एकदिन एकाबिहानै कौवा करायो… ‘काले…हर्टअट्याक !’
सुत्केरी बुहारीलाई गाउँमा एक्लै छाडेर बेहोसीमै जुठेदाई राजधानी हानिए । ६२ वर्षीय बाबुले समृद्ध बन्न हिँडेको आफ्नो बाइस वर्षीय मृत छोराको लाश पाउन साठी दिन एयरपोर्टमा बसेर झोक्राउनुपर्दा आफुपनि समाधिमै पुगेको महसुस गरे । यता समाजले बुहारीलाई बोक्सी बनायो । नातिनीलाई टोक्कुवाई !
देश अझै पतन हुदै थियो तर कफनको ढक्कन खुल्ने वितिक्कै छोराको फुस्रो अनुहार चुम्दै जुठे दाईका आँसुका धारा बगे, देश यसरी सकिँदो रहेछ छोरा…देश यसरी…!
– काठमाण्डौ विश्वविद्यालय ,नेपाली साहित्य कला डट कमबाट