समाचार

दसैंको बेला बढी भाडा लिने सवारीलाई तत्काल कार्वाही हुने

काठमाण्डौ । चाडबाडको मौका छोपेर उपत्यकामै यातायात मजदुरले यात्रुमाथि ठगी सुरु गरेको गुनासो बढ्न थालेको छ । दसैं लाग्यो भन्दै यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने, विद्यार्थीलाई राज्यले दिएको सहुलियत नदिने, तोकिएको रुटमा सवारी नचलाउनेजस्ता अनियमितता बढ्न थालेको यात्रुले बताएका छन् ।

घटस्थापनापछि बजारमा किनमेलका लागि सवारी पाउन नसकिने र पाइए पनि चढ्न नसकिने कलङ्कीबाट दसैँका सामान लिन भृकुटीमण्डप बजारमा आएका रामसुन्दर श्रेष्ठले बताए। ‘तीन किमीको दूरीमा पनि सवारी पाउन मुस्किल छ, बल्लबल्ल आउने सवारी पनि भीडले चढ्न नसकिने हुन्छ, छोटो दूरीको यो रुटमा यसअघि पनि तोकिएभन्दा बढी अर्थात् रु १५ भाडा लिन्थे, अहिले दसैँ सुरु भयो भन्दै रु २० लिन थालेछन्’– उनले भने।
जोरपाटी–रत्नपार्क रुटमा चल्ने बा२ख ७१९८ नंको सिटी यातायातको यात्रुवाहक बसले बौद्धदेखि रत्नपार्कसम्म रु ३० भाडा असुलेको पीडित यात्रु अनिता बस्नेतले दुखेसो पोखिन्। विभागले यो रुटमा रु १८ भाडा तोकेको छ।
यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारी उपत्यकामा चल्ने ठूला सवारी लामो दूरीमा चलेकाले केही कम सवारी सडकमा गुडेको स्वीकार्छन्। ‘सवारी कम भएपछि दसैँ सुरु भएको बहानामा बढी भाडा लिएका छन् भने ट्राफिक प्रहरीको १०३ नंमा फोन गरेर जानकारी गराए रु पाँच हजारसम्म कारबाही हुन्छ, विभागले तोकेभन्दा रु एकमात्र बढी भाडा लिए पनि रु पाँच हजार जरिवाना तिर्नुपर्छ’– उनले भने।
फुटपाथमा बजार यात्रुलाई सास्ती
दसैँको किनमेलमा निस्कने यात्रुलाई रत्नपार्क, पुरानोबसपार्क, भृकुटीमण्डप, सुन्धारा, नयाँसडक, बागबजारलगायत स्थानको पैदल मार्ग (फुटपाथ) मा राखिएको बजारले पनि पैदल यात्रुलाई सास्ती पुगेको छ ।

उपत्यकाको पैदल मार्गमा अन्य कामले हिँड्नेका लागि छोटो दूरी पार गर्न धेरै समय लागेको यात्रु शिव सुनारको गुनासो छ ।
काठमाडौँ महानगरपालिकाले पैदल मार्गमा बजार राख्नेलाई हटाएर खुलामञ्च वा अन्य उपयुक्त स्थलमा व्यवस्थापन नगर्दा समस्या आएको उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले बताए।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ पैदलमार्ग व्यवस्थित गर्न महानगरीय प्रहरी परिसरको सहयोगमा प्रहरीवृत्त जनसेवा, दरबारमार्ग र सिंहदरबारलाई पनि परिचालन गरिएको बताए।

‘बेलुकी ६ बजेसम्म फुटपाथमा बजार राख्न दिँदैनौँ, फुटपाथको बजार उठाएर हिँडेको सवारी जाममा फस्दा अर्को स्थानमा जान नसक्ने समस्या हामीले भोगिरहेका छौँ’, उनले भने।

सडकमा सवारी नहुने र मुख्य बजारको पैदलमार्गमा बजार राख्दा गन्तव्यमा पुग्न मुस्किल हुने गरेको दसैँको किनमेलमा निस्कने अधिकांश
उपभोक्ताको गुनासो छ । रासस