पु.समाचार

शान्तिको मर्म युद्धबाट आएकालाई नै बढी थाहा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिको मर्म र भावना युद्ध र विद्रोहबाट आएकालाई नै सबैभन्दा बढी अनुभूत हुने बताएका छन्।

अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले यहाँ आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गान्धीले शान्ति अहिंसाको मार्गबाट समाजलाई परिवर्तन गर्नुभए पनि राष्ट्रिय आवश्यकता र समाजको चाहनाले राजनीतिमा हिंसाको प्रयोग भए त्यसले अन्ततः शान्तिको मार्गमा नै डोहोर्‍याउने बताए।
आफू र स्व गिरिजाप्रसाद कोइरालाले मुलुकको हित र चाहनालाई आत्मसात् गर्दै १२ बुँदे सहमति, शान्ति सम्झौतामार्फत मुलुकलाई शान्तिको मार्गमा डोहोर्‍याएको उल्लेख गर्दै मुलुकको हितका लागि हामीले गरेको प्रयास र प्रयत्नलाई लेखक तथा पत्रकारले विष्लेषण गरेर विश्व समुदायलाई जानकारी गराउनुपर्ने बताए।
उनले शान्ति र संविधानको मार्गबाट मुलुक अगाडि बढेको र त्यसलाई समृद्ध पार्न सबैको साथ र सहयोगको जरुरी रहेको आवश्यकता अौंल्याए।
राजनीतिक दल र सरोकार भएका पक्षले ध्यान नदिने हो भने शान्ति र संविधानको प्रक्रिया धरापमा पर्नसक्ने भन्दै उनले मुलुकको विशिष्ठता र आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्न र सकारात्मक सहयोग गर्न आग्रह गरे।
प्रधानमन्त्रीले गान्धीवाद र माओवादको संष्लेषण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपालमा दुवै खालको विचारको नयाँ प्रयोग भएको बताए।
उनले नेपालको विशिष्ठ र मौलिक प्रकारको शान्ति प्रक्रियाले समग्र दक्षिण एसियालाई प्रभाव पारेको भन्दै मुलुकमा भएको ऐतिहासिक प्रयोगबाट विश्व समुदायले शिक्षा लिनसक्ने बताए। रासस