मनोरञ्जन

पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक

एजेन्सी- पाकिस्तानको  चलचित्र प्रदर्शन तथा वितरकहरुको सङ्घले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । केही दिनयता काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केही दिन पहिले भारतीय चलचित्र उत्पादकहरुको संघ मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया (आइएमपिपिए) ले पाकिस्तानी कलाकार तथा चलचित्र प्राविधिक हरुलाई भारतीय चलचित्र उद्योग (बलिउड) मा काम गर्न प्रतिबन्ध लगाएको थियो ।

आइएमपिपिएले गरेको निर्णयको जबाफमा पाकिस्तानी चलचित्र उद्योगका लगानीकर्ताहरुले पनि यस्तो अप्रिय निर्णय लिएको जनाइएको छ । दुईदेशबीचको राजनीतिक सम्बन्ध सामान्य अवस्थामा नफर्कुन्जेलसम्म सबैखाले भारतीय चलचित्र प्रदर्शन तथा वितरण कार्य निलम्बनमा परेको हो ।

“चलचित्र बजारको ख्यातिप्राप्त संगठन आइएमपिपिएले पाकिस्तानी कलाकार तथा चलचित्रकर्मीहरुले भारतमा कामै गर्न नपाउने गरी यस्तो प्रकारको निर्णय लिनु गहिरो चिन्ताको विषय हो” पाकिस्तानी चलचित्र वितरक तथा प्रदर्शक समूहव्दारा प्रकाशित एक बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अधिकांश पाकिस्तानी फिल्महलहरुमा भारतीय चलचित्र धेरैले रुचाएर हेर्ने गर्छन् । दुई देशका जनताबीच आपसी सम्वन्धमा घनिष्ठता ल्याउन भारतीय चलचित्रहरुले ठूलो सहयोग पु¥याउँदै आएका थिए ।

उल्लेख्य संख्याका पाकिस्तानी गायक तथा चलचित्र कलाकारहरुलाई बलिउडले प्रचार, प्रसार र सम्मान गर्दै दुई प्रतिव्दन्दी मुलुकका जनतालाई एकताको सूत्रमा आवद्ध गर्ने प्रयास गर्दै आएको थियो ।