खेलकुद

एन्फाको निर्वाचन रोक्न अदालतले आदेश दियो

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न चुनाव सम्बन्धी काम रोक्न उच्च अदालतले निर्देशन दिएको छ । आगामी कातिक ५ गतेसम्मका लागि ती सबै काम रोक्न उच्च अदालत पाटनले निर्देशन दिएको हो ।

न्यायाधीश प्रेमराज कार्कीको इजलासले दुबै पक्षलाई सुनुवाइका लागि ५ गतेका लागि अदालत बोलाउँदै त्यतिञ्जेलसम्मका लागि चुनाव सम्बन्धी कुनै काम कारवाही अघि नबढाउन आदेश दिएको जनाइएको छ ।

कातिक ८ गते हुने भनिएको सो निर्वाचनमा एन्फाका अध्यक्ष र वरिष्ठ उपाध्यक्षको निर्वाचन गैरकानुनी रुपमा हुन लागेको भन्दै बिहीबार पुनरावेदन अदालतमा मुद्धा दायर भएको थियो । एन्फाका पूर्व महासचिव लोकबहादुर शाही तथा रेफ्री विनोद केसीले सो मुद्धा दर्ता गराएका थिए ।

रेफ्री केसी र पूर्वमहासचिव शाहीले युवा तथा खेलकुद मन्त्रालय, युवा तथा खेलकुदमन्त्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव, एन्फा र एन्फाको निर्वाचन कमिटीलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेपछि पाटन अदालतले सो कदम चालेको जनाइएको छ ।

निर्वाचनमा अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाले उम्मेदवारी दिएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक खाती, गणेश थापाका साला मणि कुँवर र पूर्व गोलकिपर तथा प्रशिक्षक उपेन्द्रमान सिंहको दावेदारी रहेको छ ।