पु.समाचार

कांग्रेसमा उपसभापति भन्दा पहिले महामन्त्रीको पालो

काठमाण्डौ । नेपाली कांग्रेसमा उपसभापति भन्दा पहिले महामन्त्री मनोनित हुने भएको छ । आन्तारिक व्यवस्थापनमा समस्या भएपछि केन्द्रीय समितिमा महामन्त्रीको प्रस्ताव लगेर दसैं अगाडिसम्म मनोनित गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् ।

‘उपसभापति तत्काललाई थाती नै रहन्छ र दसैंअघि महामन्त्री मनोनीत गर्ने तयारी छ,’ देउवा निकट स्रोतले भन्यो, ‘उपसभापतिको मनोनययन दुई चार महिनापछि मात्र हुने भएको छ।’ सहमहामन्त्री पनि उपसभापतिभन्दा अघि नै मनोनित गर्ने तयारी देउवाको रहेको छ।

निर्वाचित भएको दुई महिनामा पार्टीका सवै निकायलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ । तर, महाधिवेशन भएको सात महिनासम्म पनि देउवाले पदाधिकारीमासमेत पूर्णता दिएका छैनन्। सिंगापुरबाट उपचार गरेर फर्किएको बेला देउवाले पार्टीमा मनोनयनको काम छिट्टै पुरा गर्ने बताएका थिए भन्दै शनिबारको नयाँ पत्रिकामा समाचार लेखिएको छ ।