पु.समाचार

स्वदेश फर्कनासाथ केपी ओलीले गरे ऋषि धमलामाथि हमला !

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

उपचारका लागि थाइल्याण्ड गएका ओली सोमबार स्वदेश फर्किएका हुन् । सो अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले कुनै दबाब, बहकाउ र कसैका निजी स्वार्थलाइ समावेश गर्न मुलुकलाई नोक्शान हुनेगरी संविधान संशोधन नहुने बताए ।

ओलीले गरे धमलामाथि हमला
कार्यक्रम ‘धमलाको हमला’ मार्फत सधै अरुको हमला गर्ने पत्रकार ऋषि धमला सोही पत्रकार सम्मेलनमा ओलीको हमलामा परेका छन् ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनकै क्रममा धमलाले ‘तपाईँको सरकार संविधान संशोधन गर्न नसकेका कारण नै ढल्यो सबैलाई थाहा छ। अब कांग्रेस र माओवादी सहमत हुँदा मधेसवादीले भने जसरी संविधान संशोधन गर्न एमाले किन बाधक बनिरहेको छ ?’ भन्दै प्रश्न गरे ।

धमलाको प्रश्नको जवाफ दिँदै ओलीले आफूहरुले आवश्यक परेका बेला संविधान संशोधन गरेको र अहिले संशोधनको आवश्यकता नरहेकाले एमाले त्यसमा सहमत हुनुपर्ने कुनै कारण नभएको बताउँदै भने, ‘यस्ता हानिकारक प्रश्न अनुत्तरित हुन्छन् ।’

त्यसपछि धमलाले ‘संविधान संशोधन अहिलेको आवश्कता हो’ भन्दै एमाले त्यसबाट भाग्न खोजेको आरोप लगाए । धमलाको प्रश्न सुनेपछि ओली संविधान संशोधन ऋषि धमलाको आवश्यकता हुन सक्छ भन्दै जंगिए ।

आक्रोशित ओलीको जवाफ सुनेर रातोपिरो भएका धमला त्यतिमा मात्र रोकिएनन् । उनले सानो स्वरमा अघि थपे, ‘प्रदेशको सीमांकन नि…?’
धमलाको प्रश्न सुनेर ओली झन् कडा हुँदै भने, ‘यो मधेसको सीमांकन कसरी भयो ? अनावश्यक, अनुचित मोडबाट आएको र बेग्लै आग्रह साथ आएको प्रश्नको अर्थ छैन ।’

ओली आक्रोशित भएको देखेपछि धामला चुपचाप बसे । धमलाको प्रश्नले मुड बिग्रिएपछि उनी १० मिनेटमै पत्रकार सम्मेलन आयोजना गरिएको हलबाट विदा भए ।