पु.समाचार

यी हुन् भारत भ्रमणबारे प्रधानमन्त्रीसँग ब्रिफिङ गरिएका महत्वपूर्ण ९ बुँदा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा छलफल गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग आइतबार ‘ब्रिफिङ’ लिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब दुई घन्टा चलेको बैठकमा उनले कार्यान्वयन गर्न सम्भव भएका विषय मात्रै आफूले भारतीय अधिकारीसँग उठाउने स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्ड ३० भदौदेखि २ असोजसम्म भारतको औपचारिक भ्रमणमा जाँदै छन् । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री रमेश लेखक, पर्यटनमन्त्री जीवनबहादुर शाहीललगायत ‘ब्रिफिङ’मा सहभागी थिए ।

मन्त्रालयका सचिव तथा भारत भ्रमणको एजेन्डामा समन्वय गरिरहेका सहसचिवले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसाग वार्ताका लागि नेपालको प्रस्तावित अडानबारे ‘ब्रिफिङ’ गरिएको बताउँदै सोमबारको नयाँ पत्रिकामा समाचार लेखिएको छ ।

प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएका बुँदा
-माथिल्लो कर्णाली, अरुण तेस्रोसहित जलविद्युत् आयोजनाको अवस्था, यसमा नेपालको धारणा स्पष्ट गर्ने
-पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी विषयको कार्यान्वयन
-नौमुरे जलविद्युत् योजना निर्माण वा यसको विकल्प खोज्ने प्रस्ताव
-पञ्चेश्वरको डिपिआरमा अन्तिम निर्णय
-दुईदेशीय विद्युतीय प्रसारण लाइन निर्माणको प्रगति
– हुलाकी सडक निर्माणको अवस्था
– भूकम्पपीडितको घर पुनर्निर्माणमा भारतीय सहयोगको कार्यान्वयन, थप सहयोग
– सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधबाट सिर्जित समस्या समाधानका लागि संयुक्त टिम निर्माणसहितका विषय
– भारतको सहयोगमा बन्ने भनेको प्रहरी एकेडेमी निर्माण