आर्थिक

सीता एयर बिक्री

काठमाण्डौ । आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ। विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको हो ।

यो वायुसेवा खरिद बिक्री सम्बन्धमा दुई महिना अगाडिनै सीता एयर र राठी समूहबीच सम्झौता भएपनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै केही समय लाग्ने भएको छ ।

राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए ।

निजी लगानीको सीता एयर ५५ करोडमा आफूले खरिद गरेको राठीले बताए। एयरमा आफूले लगानी गरेको भए पनि साइलेन्ट पार्टनरका रुपमा बस्न चाहेको र हवाई क्षेत्रकै एक जना यो वायुसेवामा हुने भएकाले कुनै हल्ला नगरिएको उनको भनाइलाई उदृत गर्र्दै शुक्रबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।

यो एयर फिजो नेपाली, सुनिल बिष्ट र विनोद बस्नेतलगायतको समूहले बिक्री गरेको हो । आन्तरिक उडानको यो वायुसेवा नियमसँग दुईवटा मल्टिइन्जिन जहाज छन् । सन् २००३बाट सञ्चालनमा आएको यो वायुसेवासँग डोर्नियर २२८ नामका १८ सिटे जहाज सञ्चालनमा छन् । सीतासँग यसअघि चारवटा जहाज भएपनि दुई वटा दुर्घटनामा परिसकेका छन्।