आर्थिक

काठमाण्डौ उपत्यकासम्म सुरुङमार्ग जोड्न जापानले १८ अर्ब दिने

काठमाण्डौ । जापानले नेपालको एउटा महत्वाकांक्षी योजना निर्माणका लागि १८ अर्ब सहुलियत ऋण उपलव्ध गराउने भएको छ । काठमाण्डु उपत्यका जोड्ने प्रमुख नाकाको रुपमा चिनिने झ्याप्ले खोला–थानकोटमा साढे २ किलोमिटर सुरुङ निर्माणका लागि जापानले सो ऋण उपलव्ध गराउन थालेको हो ।

द्विपक्षीय दौत्य सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठ समारोहमा भाग लिन तीनदिने औपचारिक भ्रमणमा काठमाडौं रहेका विदेश राज्यमन्त्रीले नोबु किसीले प्रधानमन्त्री पुष्पकमल दाहालसित भएको भेटमा उक्त परियोजना निर्माणमा सहयोग गर्ने जनाएका हुन् ।

बुधबार सिंहदरबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले प्रस्ताव गरेलगत्तै राज्यमन्त्री नोबुले सुरुङमार्ग निर्माणका लागि आफ्नो सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसको प्रक्रिया अघि बढेको जानकारी दिएका थिए ।

नेपाल सरकारले उक्त सुरुङमार्ग निर्माणमा जापानसित अनुदान सहयोग खोजेको थियो । तर जापानले ०।५ प्रतिशत ब्याजको सहुलियतपूर्ण ऋण सहयोगमा सुरुङमार्ग निर्माण गरिदिने भएको भएको भन्दै बिहीबारको कान्तिपुरमा समाचार लेखिएको छ ।