खेलकुद

आइसीसीको उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाण्डौ । नेपालको खेलकुद क्षेत्र आफैमा विवादित क्षेत्रको रुपमा देखिदै आएको छ । त्यस्तै क्रिकेट क्षेत्रमा पनि निकै वर्षअघिदेखि सो विवाद रहँदै आएको छ । पदाधिकारीबीच आन्तरिक झगडा, दुई कार्य समितिबीचको आधिकारिकता विवाद पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनलगायत कारणले लामो समयदेखि अन्यौलग्रस्त नेपाली क्रिकेटले अबचाहि चाँडै निकास पाउने सम्भावना देखिएको छ।

घरेलु खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषदको पहलमा नेपाली क्रिकेटको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय जिम्मेवार निकाय आईसीसी गम्भीर देखिएको छ ।

त्यसका लागि आईसीसीको उच्चस्तरीय टोली आगामी आइतबार नेपाल आउने भएको छ। राखेपले गरेको पहलपछि आईसीसीका प्रमुख रिचर्डसनसहितको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो।

आईसीसीले राखेपलाई पठाएको पछिल्लो पत्रअनुसार आईसीसी टोलीमा प्रमुख कार्यकारी रिचर्डसनसँगै आईसीसीमा एसोसिएट्स सदस्य राष्ट्रहरूका अध्यक्ष इमरान ख्वाजा र आईसीसी अधिकारी अमर शेख छन्।

टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई र खेलकुदमन्त्री दलजित श्रीपाइलीसँग भेट गर्ने इच्छा व्यक्त गरेको छ। रिचर्डसनले राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई सम्बोधन गरी लेखेको पत्रमा प्रधानमन्त्रीसँगको भेट लगत्तै एउटा कार्यदल गठन गर्ने प्रस्ताव गरेका छन्। यो कार्यदलले क्यानको जारी ऐनको समीक्षा गरी नयाँ ऐनको मस्यौदा गर्ने भन्दै बिहीबार अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।