पु.समाचार

अब उपत्यकाबाहिर पनि साझा साझा बस

काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ।

दस वर्षको अन्तरालपछि आगामी १६ गतेदेखि साझा यातायातले पुनः काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए। उनका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बागलुङका लागि दुई र काठमाडौँ(गोरखाका लागि दुईवटा बस सञ्चालन हुनेछन्।

यही असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६स्३० बजे बागलुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन्। विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२र६३ बाट पूर्णरुपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो।

काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन्। साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो। एक हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिए। रासस