राजनीति

दशै अघिनै मन्त्री बन्न दौडधुप गर्दैछन् यी दल

काठमाडौं । सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि चार ओटा मन्त्रालय रिक्त रहेपछि साना दलको दौडधुप बढेको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा नआउने निश्चितजस्तै भएपछि साना दल र तिनका नेताहरु मन्त्री बन्न हतारिएका हुन् ।
उनीहरुले दशैंअगावै आफूहरुलाई मन्त्री बनाउन पनि दबाब दिइरहेका छन् । अहिले महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ र पशुपन्छी मन्त्रालयसहित चार मन्त्रालय खाली छ ।

मन्त्री बन्नका लागि साना दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर भेट गरी दबाब दिँदै आएका छन् ।

उपप्रधानमन्त्रीसहित एउटा महत्वपूर्ण मन्त्रालय पाएको खण्डमा आफै सरकारमा जाने, नपाए पार्टीबाट सरकारमा कसैलाई नपठाउने गच्छदारको भनाइले उनको पाटीभित्र चर्को विवाद भएको छ । र, अहिले राम्रो मन्त्रालय पाए सरकारमा जाने तयारी उसको छ ।

समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, परिवार दलका अध्यक्ष एकनाथ ढकाल र बहुजन शक्ति फोरमका अध्यक्ष विसेन्ऽ पासवान पनि सरकारमा जान निकै प्रयास गरिरहेका छन् भन्दै आइतबारको राजधानी दैनिकमा समाचार लेखिएको छ ।