पु.समाचार

‘हेलो सरकार’ मा ५० हजार गुनासा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा ५० हजारभन्दा धेरै गुनासा परेका छन् । १७ कात्तिक ०६८ देखि ६ असोजसम्म ५० हजार चार सय गुनासा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

सर्वसाधारणबाट परेका गुनासामध्येबाट अहिलेसम्म ९१ दशमलव ८१ प्रतिशत गुनासा फस्र्योट भएको छ । ‘सम्बोधन हुन लायक सबै उजुरीको ढिलोचाँडो सम्बोधन भएरै छाड्छ,’ उनले भने । ‘हेलो सरकार’ले गुनासो हेरेर प्रत्यक्ष फोन गर्नेदेखि सम्बन्धित निकायलाई पत्र देखेर सम्बोधन गर्दै आएको छ । ‘हेलो सरकार’मा सबैभन्दा धेरै उजुरी काठमाडौं उपत्यकाबाट परेको छ ।

मुलुकभरबाट आएका २० प्रतिशत गुनासा सम्बोधन गर्न नै नमिल्ने खालका हुने उपाध्यायको भनाइ छ । उनका अनुसार जिस्क्याउने, जोक गर्ने र झिँजो लाग्ने किसिमका गुनासासमेत आउने गरेको छ ।

हेलो सरकारमा धेरैजसो व्यक्तिगत लेनदेनमा समस्या परेका विषयमा धेरै गुनासा आउने गरेका छन् । दैनिक जीवनमा उपभोग गर्ने यातायात, विद्युत्, सडक, महँगी, कृषकले बीउ, मल समयमा नपाएका जस्ता गुनासा आउने गरेका छन् ।

सरकारी कर्मचारीले भ्रष्टाचार गरेका उजुरी पनि धेरै आउने गरेका छन् । स्थानीयस्तरमा सडक, सिँचाइ, विद्यालय र स्वास्थ्य चौकीजस्ता क्षेत्रमा आर्थिक अनियमितता भएका गुनासा धेरै आउने गरेका छन् भन्दै आइतबारको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।