समाचार

दलहरु नै निर्बाचनबाट डराईरहेका छन्  : नीलकण्ठ उप्रेती

पर्वत । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताएक छन् ।

सदरमुकाम कुश्मा पुगेका उप्रेतीले शनिबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उप्रेतीले अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का पैदा गरेको र दलहरु गम्भीर भएनन् भने समस्या उत्पन्न हुन सक्ने बताए । राजनीतिक दलहरु नै चुनावको पक्षमा नभएको आरोप लगाउँदै उनले बाँकी १६ महिनाभित्र तीनवटै चुनाव गर्न सकिने भएकाले अब तत्काल ऐन बनाएर अघि बढ्नुपर्ने बताए ।

उप्रेतीले दुई दशकदेखि हुन नसेकेको स्थानीय निकायको निर्वाचन जति सक्दो चाँडो गर्नुपर्नेमा पनि जोड दिए । निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनको वातावरण बनाउन सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने सुझाव दिए ।

लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले दलहरुको सहमतिमा ऐन निर्माण गरेर निर्वाचन आयोगलाई तयारी गर्न दिनुपर्ने बताउँदै उनले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने बताए ।

उप्रेतीले भने– “अघिल्लो निर्वाचनमा पनि केही दल असहमत थिए तर मिति घोषणा भएपछि सफल रुपमा सम्पन्न भयो, अहिले पनि त्यही माध्यमबाट अघि बढ्नु आवश्यक छ ।”