खेलकुद

गौरिका सिंहको कीर्तिमान तोडियो

काठमाण्डौ । नेपालकी ओलम्पियन गौरिका सिंहले कायम गरेको कीर्तिमान तोडिएको छ । गौरिकाले ७ महिनाअघि दक्षिण एसियाली खेलकुदमा बनाएको राष्ट्रिय कीर्तिमानलाई निहारिका तुलाधरले तोडेकी हुन् ।

शुक्रबार ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा नेपाल पौडी संघको आयोजना सुरु भएको छैटौं एनएसए कप खुला तथा उमेर समुह पौडी प्रतियोगितामा निहारिकाले गौरिकाको कीर्तिमानीलाई तोडेकी छन् । निहारिकाले ५० मिटर ब्रेस्ट स्ट्रोकमा नयाँ कीर्तिमान बनाएकी हुन् ।
गौरिकाले यसअघि भारतको गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ५० मिटर ब्रेस्ट स्ट्रोक ३९ दशमलव ३३ सेकेण्डमा पूरा गरेकी थिइन् भने सो रेकर्डलाई भंग गर्दै निहारिकाले सोही दूरीको स्ट्रोकमा ३८ दशमलव ०६ सेकेण्डमा पूरा गरेकी थिइन् ।