पु.समाचार

प्रेमीलाई ऋणबाट मूक्त गर्न अभिभावकसँग अपरहरणको नाटक रच्यो यो जोडीले !

काठमाण्डौ । प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन्। महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन्ने सिर्जना खड्का अपहरणमा परेको उजुरी पर्यो्।

प्रहरीले सो उजुरीमाथि अनुसन्धान गर्दा बिहीबार बिहान ८ बजे अपहरणमा परेकी सिर्जना र उनको प्रेमी सिजन भन्ने रामचन्द्र खत्रीलाई पक्राउ गर्योि। जसबाट प्रेम सम्बन्धका कारण प्रेमीको ऋण तिरिदिन साबुले आफ्ना अभिभावकसँग गरेको नाटक मात्रै हो भन्ने पत्ता लाग्यो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)  ईश्वर कार्कीका अनुसार उनीहरूको स्थायी घर एकै स्थानमा रहेकाले लामो समयदेखि प्रेममा थिए । पाटनढोका बस्ने साबु भन्ने सावित्री खड्का र प्रेमी काठमाडौं चक्रपथ चप्पल कारखाना बस्ने रामचन्द्र खत्रीको स्थायी घर सिन्धुपाल्चोक कर्थली हो । दुवैजनाले भर्खरै १२ कक्षाको परीक्षा दिएर बसेका हुन् ।

घर पनि एकै ठाउँ पढाइ पनि समानस्तर र प्रेम सम्बन्ध पनि भएकाले सावित्रीले रामचन्द्रको समस्या सुल्झाउन आफैं अपहरणमा परेको नाटक गरेकी थिइन् ।

प्रहरीका अनुसार बुधबार दिउँसो दुवैजना मिलेर सावित्रीको मोबाइलबाट अपहरण परेको र भनेजति रकम नदिए मुम्बईको कोठीमा पुर्याइदिन्छु, प्रहरी तथा आफन्त कसैलाई खबर नगर्नु, गरेमा राम्रो हुँदैन भनेर सावित्रीकी दिदीलाई एसएमएस पठाएका थिए ।

सोही एसएमएसलाई आधार मानेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । परिसरका प्रवक्ता कार्कीका अनुसार रामचन्द्र केही महिनाअघि काठमाडौं आएका थिए । उनी काठमाडौं आएपछि भारतीय नेटवर्क कम्पनीमा काम गर्दा उनलाई ऋण लागेको थियो । साथीभाइसँग पैसा उठाएर नेटवर्किङको व्यापार गर्दा उनी ऋणमा डुबेपछि सो कुरा सावित्रीलाई बताएका थिए । आफू निकै समस्यामा परेको र ऋण तिर्ने उपाय नभएको भन्दै आपसी सहमतिमा सावित्रीकै मोबाइलबाट एसएमएस पठाएका थिए । तर, एसएमएसमा पैसा भने उल्लेख गरेका थिएनन् । प्रहरीमा दिएको बयानअनुसार २ लाख माग्ने उनीहरुको योजना थियो ।

सावित्रीकै मोबाइलबाट उनकी दिदीलाई एसएमएस पठाएपछि दिदीले ललितपुर प्रहरीको सहयोग मागेकी थिइन् । ‘बहिनी अपहरणमा परेको भन्दै दिदीले गरेको उजुरी र उनीहरूले पठाएको एसएमएसका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो, उनीहरूलाई बिहान पक्राउ गर्न सफल भइयो,’ प्रवक्ता कार्कीले भने अनुसन्धान गर्दै जाँदा उनीहरू दुवैको योजनामा रामचन्द्रले साथीहरूसँग लिएको ऋण चुक्ता गर्न पैसा जुटाउने उद्देश्यले अपहरणको नाटक गरेको रहेछ ।’

समाजमा नकारात्मक असर पर्ने काम गरेकाले उनीहरू दुवैजनालाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाएको जनाउँदै शुक्रबारको राजधानी दैनिकमा समाचार प्रकाशित गरिएको छ ।