अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानबीच तनाब बढ्दै गएपछि चीनले दियो यस्तो प्रतिक्रिया

एजेन्सी– भारत अधिनस्थ काश्मिर क्षेत्रमा भएको भीडन्तपछि भारत र पाकिस्तानबीच थप तनाव देखिएको विषयमा चीनले समेत प्रतिक्रिया दिएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले काश्मिर क्षेत्रको हिंसात्मक भीडन्त र आक्रमणबाट मानवीय हताहती समेत भएको विषयप्रति प्रतिक्रिया दिएका हुन् ।

चीनिया परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा बुधबार बोल्दै खाङले सो घटनामा दुवै पक्षले संयमता अप्नाउन आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सो घटनामा विभिन्न पक्षले संयम राखेर तनावपूर्ण परिस्थितिलाई शान्त पार्नतर्फ ध्यान दिने आशा गर्दछौ ।’

केही दिनअघिमात्र भारतको अधीनमा रहेको काश्मिर क्षेत्रको एउटा सैनिक क्याम्पमाथि आक्रमण भएको थियो । सो आक्रमण परेर १७ जना भारतीय सैनिकको ज्यान गएको थियो ।

पाकिस्तानले सीमा पार गरिने आतंकवादी गतिबिधिलाई समर्थन दिएको भारतले दोषारोपण गरेको छ भने पाकिस्तानले आफ्नो स्वरुप बंग्याउन खोजेको भन्दै भारतको आलोचना गरेको छ । यो घटनाले भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ ।