प्रवास

‘ब्रिटिस साम्राज्य निर्माण गर्दा अंग्रेजहरुको भन्दा गोर्खालीहरुको धेरै रगत बगेको छ’

लण्डन । दोश्रो बिश्व युद्धमा जर्मनी सेना विरुद्ध लड्ने क्रममा इटालीको सान मारिनोमा मारिएका भिसी शेरबहादुर थापाको ७२ औं स्मृति दिवस १८ सेप्टेम्बरका दिन लण्डनस्थित प्लाम्स्टिटमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

 कार्यक्रमका प्रमुख अतिथि ब्रिटेनका लागि नेपाली राजदुत शरदराज आरनले ब्रिटेनको लागि नेपाली गोर्खाहरुले पुर्याएको योगदानको एउटा प्रतिक भिसी शेर बहादुर थापा भएकोले उहाको सम्झना गर्नु अत्यन्तै सान्दर्भिक भएको चर्चा गर्नु भएको थियो ।

उहाले भन्नु भयो, भिसी शेरबहादुर थापा सबै गोर्खा हरुको नासो भएकाले हामी सबैले उहालाई सम्झनु हाम्रो दायित्व हो । कार्यक्रममा खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक टेकबहादुर थापाले खस जाती प्राचिन कालदेखिनै लडाकु जातीको रुपमा परिचित जाती भएकाले खस जातिका मानिसहरुको उपस्थिति सेनामा अग्रिम स्थानमा रहदै आएको बताउनु भएको थियो । खसहरुले महाभारतको युद्धमा दुर्योधनको पक्षमा लडेका प्रसंग उहाले सुनाउनु भएको थियो  ।

उक्त कार्यक्रममा लन्डनस्थित हंस्लो काउन्सिलका पुर्ब मेयर तथा काउन्सिलर पौल लिंचले ब्रिटेनको लागि गोर्खाहरुले खेलेको भूमिका ब्रिटिस नागरिकहरु बिर्सन नहुने धारणा राख्नु भएको थियो । सैनिक आवाजका सम्पादक डा.चन्द्र बहादुर गुरुङले ब्रिटेनको लागि भिसी शेरबहादुर थापाहरुले पुर्याएको योगदानको उचित सम्मान हुन नसकेको दुखेसो गर्नु भएको थियो ।

कार्यक्रममा बिश्व नेपाली साहित्य महासघका अध्यक्ष बिश्वदिप तिगेलाले बेलायती साम्राज्यले कब्जा गरेका ६६ वटा उपनिबेशिक मुलुकमध्ये ३६ वटा उपनिवेशक मुलुक बनाउन गोर्खाहरुको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । त्यसैले गोर्खाजले आवास र पेन्सन सुविधाको मात्र होइन सिंगो बृट्रिस साम्राज्यमा आफ्नो अंश खोज्नुपर्छ । त्यो वेला अंग्रेजहरु कमाण्डर बनेर युद्ध लडे भने अगाडी मोर्चामा गोर्खाजहरु रहेका थिए, त्यसैले बृट्रिस एम्पायर बनाउन अंग्रेज नागरिकको भन्दा धेरै रगत गोर्खाजको बगेको थियो ।

तसर्थ अहिलेको समृद्ध वेलायत बनाउन सर्वसाधारण बृट्रिस नागरिकको भन्दा धेरै गुणा ठूलो योगदान गोर्खालीहरुको छ ।

SONY DSC

नेपाली संघिय समाज युकेका अध्यक्ष धर्म तामाङ, किरात मंच प्रबास प्रमुख राजन खिम्दुले राई, आदिवासी जनाजति महासघ युकेका महासचिब कर्मा शेर्पा, जनमुक्ति मंच युकेका अध्यक्ष नारायण पुन,पहिचान साहित्य पुरस्कार कोषका अध्यक्ष नरेश कांगवांग राई, लेखक तथा खस छेत्री अभियन्ता कृष्णबहादुर थापा, बिश्व नेपाली साहित्य समाज युकेका अध्यक्ष सुमल गुरुङ, रोयल ग्रीनवीच नेपाली समाजका अध्यक्ष कुमार श्रेष्ठ,एनआरएन युके केन्द्रिय सदस्य ललित न्यौपाने, नेपाली संघिय समाज युकेका सचिब मिलन चन्द्र राई ,नेबिसघ युकेका रेशम अर्याल, नेपाली संघिय गठबन्धन युकेका अध्यक्ष पदम गाहा मगर,नेपाली आदिवासी जनाजति महासंघ नेपालका पुर्ब सचिब भक्त दुरा, खस समाजका सल्लाकार महेन्द्र खस लगायतले उक्त अबसरमा आ-आफ्नो मन्तब्य राख्नु भएको थियो ।

नौ गोर्खा राइफलका सिपाही थापाको सन् १९४४ सेप्टेम्बर १९ का दिन जर्मनी सेनाको आक्रमणमा निधन भएको थियो । तनहुँ जिल्लाको घले छापमा जन्मिएका थापालाइ ब्रिटिश सरकारले मरणोपरान्त भिक्टोरिया क्रसको उपाधि प्रदान गरेको थियो ।

नौ गोर्खा राइफल तत्कालिन ब्रिटिश सरकारले सन १८१७ मा नेपाली खस जातिका छेत्री र ठकुरीका लागि बनाएको थियो । शेरबहादुर थापा उक्त नौ जिआरका तर्फबाट भिक्टोरिया क्रसको उपाधि पाउने एक मात्र खस मुलका नेपाली हुन् । ब्रिटिश सेनाको सबैभन्दा ठूलो उपाधि भिक्टोरिया क्रस हो । उक्त उपाधि शेर बहादुर थापाको परिवारलाई नदिएर नौ जिआरले नै आफूसंग राखेको छ  ।

खस समाज युकेले संयुक्तरुपमा आयोजना गरेको युक्त कार्यक्रममा स्वागत मन्तब्य समाजका सल्लाकार राजेन्द्र खसले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सन्तोष कार्कीले गर्नु भएको थियो ्र खस समाज युकेका अध्यक्ष इन्द्र कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो  ।