समाचार

पहिरोले पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध

पर्वत । गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको हो ।

बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

बिहान ३ः३० बजेदेखि अवरुद्ध बनेको सडक खुलाउनका लागि पहल भइरहेको जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए। उनका अनुसार सडक डिभिजन कार्यालय बागलुङमा सम्पर्क गरी डोजर मगाइएको र ९ बजेसम्म सडक सञ्चालन गर्न सकिने छ ।

सडक अवरुद्ध हुँदा धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतको कुश्माबाट बिहानी सेवामा छुटेका लामो तथा छोटो दूरीका यातायात अलपत्र परेका छन् भने अन्यत्रबाट धौलागिरितर्फ आएका रात्रि सेवाका सवारी साधन डिमुवामा रोकिएको जिप्रका, पर्वतले जनाएको छ । रासस