पु.समाचार

मोदीसँग दिल खोलेर कुराकानी भयो: प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटमा दिल खोलेर कुराकानी भएको र अब नेपाल–भारतबीच असमझदारी अन्त्य भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तेस्रो दिन होटेल ताज प्यालेसमा आयोजित संक्षिप्त पत्रकार सम्मेलन र इन्डिया फाउन्डेसनको बेग्लै स्वागत कार्यक्रममा दुई देशको सम्बन्धमा अब नयाँ आयाम थपिएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानका विषयमा भारतसँग कुनै असमझदारी बाँकी नरहेको पनि बताएका छन् । राजकीय भ्रमण सकेर प्रचण्ड आइतबार स्वदेश फर्किंदै छन् ।

‘जसरी म चुनौती र अवसरको बीचमा प्रधानमन्त्री भएको थिएँ र चुनौतीहरूलाई चिरेर नयाँ राजनीतिक अवसरका लागि अग्रसर थिएँ, भारत भ्रमण पनि मेरा लागि अवसर र चुनौती थियो,’ भारतीय जनता पार्टीनिकट फाउन्डेसनको रात्रिभोजमा प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्री मोदीजीसँग मेरो दिल खोलेर कुराकानी भयो।

दिलैदेखिको कुरा भयो। कुराकानी भइसकेपछि मलाई लाग्यो कि नेपाल–भारत सम्बन्धको नयाँ आयाम थपियो । चुनौती सामना गर्न म सफल भएँ ।’

प्रधानमन्त्री प्रचण्डले आफू आशा र अठोट लिएर भारत आएको उल्लेख गर्दै भ्रमण सफल भएको पनि स्पष्ट पारे । ‘विगतका असमझदारीहरूलाई अन्त्य गरेर अब सम्बन्ध कहिल्यै डिरेल नहुने गरी अघि बढेका छौँ,’ प्रचण्डले भने, ‘अब हामी विगतको तीतो अनुभवतिर जानेछैनौँ ।’ आइतबारको नयाँ पत्रिकामा समाचार प्राकशित छ ।