शिक्षा

तत्काल ताला खोल्न कांग्रेसको माग

सुर्यखबर सँबाददाता,

धरान । धरानस्थित पिण्डेश्वर विद्यापिठका नवनियुक्त प्राचार्य डा। चन्द्रमणि नेपाललाई भव्य स्वागत गरिएको छ । नेपाल विद्यार्थी संघ पिण्डेश्वर इकाईले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला, क्षेत्र र नगर समिति तथा कांग्रेस निकट अन्य भातृ तथा शुभेच्छुक संघसंस्थाहरुले प्राचार्य नेपाललाई स्वागत गरेको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका कांग्रेस सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले लामो समयदेखि प्राचार्य विहिन हुंदा क्याम्पसको प्रशासनिक काम कारवाही तथा पठनपाठनमा असहजता हुंदै आएकोमा प्राचार्य नियुक्ति पछि क्याम्पसको सबै गतिविधिहरु सुचारु हुने विश्वास व्यक्त गरे ।
उनले एमाले निकट भातृ संस्था अनेरास्ववियूले क्याम्पसमा जुनसुकै वहानामा तालाबन्दी गरेको भएपनि विगत लामो समयदेखि प्रगतिशील प्राध्यापकहरुका तर्फवाट मात्र प्राचार्य नियुक्त हुंदै आएको र यसपटक प्रजातन्त्रवादी प्राध्यापकले त्यसको क्रमभंग गरेको हुंदा क्याम्पसमा अस्थितरता र संक्रमणकाल लम्ब्याएर आस्थाकै आधारमा प्राचार्यलाई काम गर्न नदिन ईश्या र प्रतिशोधले तालाबन्दी गरेको आरोप लगाए । उनले क्याम्पसको विद्यामान सबैखाले समस्याहरु वार्ता र संवादवाट नै समाधान हुनुपर्नेमा जोड दिंदै सोको लागि तत्काल ताला खोल्न आग्रह गर्दै विवेकले नभए बल प्रयोग गर्न पनि कांग्रेस पछि नपर्ने बताए ।

कार्यक्रममा प्राचार्य नेपाल, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सभापति तिलक राई, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यद्धय चन्द्रसुन्दर खेवाङ र ममता राई, पूर्व विद्यार्थी श्याम पोखरेल, संस्कृत विश्वविद्यालय कर्मचारी संघका केन्द्रिय सचिव भेषवहादुर निरौला, संस्कृत विश्वविद्यालय प्राध्यापक संघका सभापति डिकराज पौडेल, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति भवानी भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
नेविसंघ पिण्डेश्वर इकाईका उपसभापति पिताम्वर अधिकारीको अध्यक्षता र सचिव जीवन पौडेलको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सदस्यहरु अनिल श्रेष्ठ, माधव घिसिङ, गोविन्द बस्नेत, निलकुमारी थापा, महाधिवेशन प्रतिनिधि सन्तोष सापकोटा, नगर सचिव युवराज शंकर, नगर कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, वडासभापतिहरु सिता पौडेल, राजु थापा, ईश्वरीप्रसाद रेग्मी, जितेन्द्र राई, नेविसंघ संस्कृत विश्वविद्यालयका केन्द्रिय उपसभापति प्रताप भट्टराई, क्याम्पसका प्राध्यापक र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।