समाचार

दुई हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

गोरखा । गोरखाका विभिन्न सरकारी विद्यालयमा पढ्दै आएका विद्यार्थीको बिहीबार निःशुल्क मुटु परीक्षण गरिएको छ । नेपाल हर्ट फाउन्डेसन गोरखाले दशकिलोस्थित महेन्द्र मावि र आहालेस्थित सरस्वती माविका दुई हजारजना विद्यार्थीको मुटुको परीक्षण गरेको हो ।

मुटु परीक्षणका क्रममा दुईजना विद्यार्थीको मुटुमा समस्या देखिएको छ । उनीहरुको उपचारका लागि तीन लाख रुपैयाँ लाग्ने र फाउन्डेसनले निःशुल्क उपचार गरिदिने तयारी गरेको जिल्ला अध्यक्ष दिलबहादुर बस्नेतले जानकारी दिए। फाउन्डेसनले आज सदरमुकामको बालमन्दिर मावि, महेन्द्रज्योति माविका बिद्यार्थीको निःशुल्क मुटुको परीक्षण गर्ने फाउन्डेसनका सचिव पवनरमण खनालले बताए।

यस्तै, स्वास्थ्य संस्थाका प्रमुखलाई टन्सिल र मुटुसम्बन्धी विभिन्न जानकारी दिन आज जनस्वास्थ्य कार्यालयको समन्वयमा तालिम आयोजना गरिएको खनालको भनाइ छ । वीर अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी नेतृत्वको तीन सदस्यीय टोलीले विद्यार्थीको मुटु परीक्षण गरेको थियो । रासस