अन्तर्राष्ट्रिय

विश्वको आँखामा परेको एउटा सानो टापू, जसका कारण विश्वयुद्धकै खतरा बढिरहेको छ !

एजेन्सी– पछिल्ला वर्ष साउथ चाइना सीको विषयलाई लिएर विश्वभर गम्भीर बहसहरु भैरहेको छन् । साउथ चाइना सीको विषयले पूर्वी एसियाली मुलुकहरुबीच दशकौ देखि बहस उठान हुँदै आइरहेको छ । साउथ चाइना सी वास्तवमा एउटा सानो समुद्रबीचमा रहेको टापू हो । यो टापूलाई चीनले आफ्नो सार्वभौम भूमी मान्दै आइरहेको छ । यो महत्वपूर्ण व्यापारिक बन्दगाह पनि हो ।

यसकारण पनि त्यस वरिपरि रहेका अन्य मुलुकहरु समेत पनि यसलाई आफ्नो नियन्त्रित क्षेत्र भन्न रुचाउँछन् । त्यसैले यो टापूको विषयमा अन्तर्राष्ट्रिय अदालतमा मुद्धा समेत परेको थियो । यद्यपि, अदालतले भने चीनको दाबी विपरित फैसला गरेपछि अहिले यो विषय थप विवादस्पद बन्दै गइरहेको छ ।

यो टापूको विषयमा चीन, ताइवान, फिलिपिन्स, मलेसिया, इण्डोनेसिया र भियतनामले आ–आफ्नो स्वार्थ अनूरुप दाबी गरिरहेका छन् । सन् १९४७ मा चीनले वैधानिक ढंगले यो क्षेत्रलाई आफ्ना सीमा क्षेत्र भनेर घोषणा गरेको थियो । त्यसयता यो क्षेत्र विवादित बन्न पुगेको छ र अहिले अमेरिका समेत यो मुद्धालाई अन्तर्राष्ट्रिय मुद्धा बनाएर अघि बढिरहेको छ, जसका कारण अमेरिका र चीनबीच ठूलो टक्कर देखिएको छ ।
कहाँनेर पर्छ साउथ चाइना सी ?
यो क्षेत्र दक्षिण–पूर्वी एसियाको प्रशान्त महासागरको पश्चिम किनारमा अवस्थित रहेको छ । यो करिब १।४ मिलियन स्क्वायरमा फैलिएको बताइन्छ । यो टापू केही माटो र केही चट्टान मिसिएर निर्माण भएको सानो टापू हो । जुन टापूको विषयमा अहिले विश्वभर बहस भैरहेको छ ।

विश्वयुद्धनै निम्त्याउन सक्ने खतरा 
साउथ चाइना सीको विषयमा विश्वका जुनसुकै मुलुकसँग पनि सम्झौता हुन नसक्ने चीनको दाबी छ । उसले यो क्षेत्रलाई आफ्नो मुलुकको सार्वभौमिकताको विषयसँग जोडेको देखिन्छ । चीनले आफ्नो आदिम सभ्यतासमेत यो टापूसँग जोडिएकोले कसैले यसलाई दाबी नगर्न विश्वभर आव्हान समेत गर्दै आइरहेको छ तर हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा परेको मुद्धामा उसको हार भएको छ ।

अन्तर्राष्ट्रिय अदालतको मुद्धालाई समेत चीनले अस्वीकार गर्दै साउथ चाइना सीमा आफ्नो सैनिक गतिविधिलाई तिव्र पारिरहेको देखिन्छ । पछिल्लो दिन मात्र चीन र रुसले यो क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेका खबरहरु बाहिर आइरहेका छन् ।

अन्य मुलुकहरुका सैन्य गतिविधिहरु पनि यही क्षेत्रमा केन्द्रीत रहेर हुन सुरु भएका छन् । त्यस्तै, भियतनाम लगायतका मुलुकहरुले पनि यो क्षेत्रलाई आफ्नो प्राचीन इतिहाससँग जोडेर बहस गरिरहेका छन् ।

अमेरिकाले चीनको यो गतिविधिप्रति तीव्र असन्तुष्टि जनाइरहेको छ । उसले हेगले गरेको निर्णय कार्यान्वयण हुनुपर्ने आवाज समेत उठाउनुले यो टापूको सवालमा विश्वनै दुई धु्रर्वमा विभाजित भइरहेको संकेत गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले केहीदिन अघि लाओस भएको एसियन राष्ट्रहरुको शिखर सम्मेलनमा समेत अन्तर्राष्ट्रिय अदालतले गरेको फैसला चीनले मान्नुपर्ने दाबी गरेका थिए । अमेरिकाको यो दाबी प्रति चीनले तिब्र असन्तुष्टि जनाउँदै आएको छ ।

चीनले रुस, पाकिस्तान लगायतका राष्ट्रहरुको समर्थन पाएको छ भने अमेरिकाले चीनकै आफ्नो छिमेकी भारत लगायतका हेग फैसलाले मान्यता दिएका भियतनाम लगायतका मुलुकहरुलाई आफ्नो समुहलाई मिलाएको देखिन्छ । यसबाट साच्चै साउथ चाइना सीको विषयमा विश्वयुद्धकै स्तरमा टक्कर हुने छाँटकाँट देखिएको जानकारहरु बताउँछन् ।

साउथ चाइना सी महत्वपूर्ण व्यापारिक मार्ग
साउथ चाइना सी विश्वको महत्वपूर्ण व्यापारिक मार्ग मध्ये एक हो । यो व्यापारिक मार्गबाट वार्षिक कमसेकम ५ ट्रिलियन डलर बराबरको व्यापार हुने सञ्चारमाध्यामहरुले जनाएका छन् । यो क्षेत्रमा संसारकै आँखा पर्नुको मुख्य अर्को कारण हो, तेल र ग्याँस खानीको भण्डार हो साउथ चाइना सी वरिपरिको टापू ।

तथ्यांकहरुका अनुसार यो टापूमा १ सय ९० ट्रिलियन क्युबिक फिट प्राकृति ग्यास भण्डारण भएको अनुमान गरिएको छ । यो टापूमा चीन, भियतनाम, फिलिपिन्स, ताइवान र मलेसियाले कार्गो लगायतका हवाई अड्डाहरु निर्माण गरेका छन् । सन् २०१४ मा चीनले मात्र साउथ चाइना सी वरिपरि ७ वटा कृतिम टापुहरु निर्माण गरेको छ । जसको आडमा उसले आफ्नो शक्ति सञ्चय समेत गरिरहेको बताइन्छ ।