आर्थिक

नेपाल वायु सेवाका जहाज किन्न सञ्चय कोषले २५ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौं । नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ ।

कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाउने निर्णय गरेको हो ।

सरकारको जमानीमा सञ्चय कोषले निगमलाई ऋण लगानी गर्नेछ । दुई वाइडबढी जहाज खरिद गर्न २६ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान रहेको छ । ‘नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाइएको छ,’ कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यले भने, ‘अब निगमले यसको आवश्यक प्रक्रिया सुरु गर्नेछ ।’

निगमलाई यसअघि १ सय ५८ सिटका दुई एयरबस ३२० जहाज किन्न पनि कोषले ऋण दिएको थियो । निगमले ती जहाज खरिदका लागि कोषबाट १० अर्ब ऋण लिएको थियो । सुरुमा १२ प्रतिशत ब्याजदर तोकिएकोमा अहिले १० प्रतिशतमा घटाइएको छ ।

सञ्चय कोषसँग ऋण लिन अर्थ मन्त्रालयले निगमलाई सैद्धान्तिक स्वीकृत दिएपछि ऋण सम्झौताको प्रक्रिया अघि बढ्नेछ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत जमानीका लागि अर्थमा पहल थाल्नेछ भन्दै बिहीबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।

अर्थबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि निगम र कोषबीच अन्तिम सम्झौता हुनेछ । ‘अब दोस्रो चरणमा ब्याजदरलगायतका विषय टुंगो लाग्छ,’ निगमका प्रवक्ता रामहरि शर्माले भने, ‘अब कम्तीमा ६ महिनामा प्रक्रिया पूरा गरेर हामी टेन्डरमा जान सक्छौँ ।’