पु.समाचार

भूकम्पपछि नारायणहिटीको यो बेहाल !

काठमाडौं । भूकम्पले नारायणहिटी दरबारका पर्खालदेखि भवनसम्ममा क्षति पुर्याकए पनि अहिलेसम्म निर्माण गर्ने सुरसार गरिएको छैन ।
दरबार सङ्ग्रहालयले एक वर्षअघि नै सरकारसँग रकम माग गरे पनि उपलब्ध हुन नसक्दा निर्माण कार्य थाल्न नसकिएको सङ्ग्रहालय प्रमुख रोहित ढुङ्गानाले बताए ।

उनका अनुसार मर्मत तथा निर्माण कार्यका लागि करिब २५ करोड रुपियाँ माग गरिएको छ ।

भूकम्पले दरबारको पूर्व, उत्तर र पश्चिमतर्फको पर्खाल लडाइदिएको छ। पर्खाल भत्किएपछि काँडे तारले बेरेर काम चलाइएको भन्दै आइतबारको गोरखापत्रमा समाचार प्रकाशित गरिएको छ ।

सङ्ग्रहालय प्रमुख ढुङ्गानाले २.७ किलोमिटरमध्ये २.४ किलोमिटर पर्खाल निर्माण गर्नुपर्ने बताए। पर्खालका लागि झन्डै आठ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । पर्खाल २०४० सालपछि निर्माण गरिएको थियो ।

पर्खाल निर्माण भएलगत्तै राजा त्रिभुवनकी कान्छी रानी ईश्वरीको निधन भएएपछि पश्चिमतर्फको पर्खाललाई काटेर शवयात्रा निकालिएको थियो। यसरी काटिएको स्थानमा पुनः पर्खाल निर्माण गरिएको थियो ।

दरबार सङ्ग्रहालय प्रवेश गर्ने स्थानमा पनि पर्खाल भत्किदा त्यहाँ उम्रिएका झार हटाउन मिलेको छैन भने कतिपय स्थानका पर्खालमा अझै पनि टेको दिइएको छ । दक्षिणतर्फको फलामे बार अडेको पर्खाल पनि निकै कमजोर बनिसकेको छ ।

सङ्ग्रहालय प्रमुख ढुङ्गानाले फलामे बारलाई उभ्याइएको सानो पर्खाल कमजोर भएकोले कुनै पनि बखत ढल्न सक्ने भएकाले सडक यात्रुका लागि निकै जोखिम भएको बताए ।

भूकम्पले भत्काइदिएको दक्षिणतर्फको प्रवेशद्धार पनि पुनः निर्माण गर्नुपर्ने देखिएको छ । सुरुमा नारायणहिटी दरबारको मुख्यद्वार नै त्यही थियो । त्यो द्वार राणा प्रधानमन्त्री रणोद्दीपको पालामा बनेको अनुमान गरिएको छ ।

दरबार परिसरमा रहेको रणोद्दीपको दरबार (बम्बै चोक) र राजा त्रिभुवनकी भित्रिनी सरलाको पनि दरबार पूर्ण रूपमा भत्किएको थियो । भूकम्पमा भत्किएका ती दरबारका अवशेष समेत पन्छाइएको छैन । उनले आर्थिक समस्याका कारण ती अवशेष पन्छाउन नसकिएको गुनासो गरे।