राजनीति

महेन्द्र वीपीसँग झुकेको त्यो दिन, जतिबेला उनलाई रत्नसँग प्रेम गरेको आरोपमा दरबारबाट निकालिदै थियो !

काठमाण्डौ । एकातिर रत्नसँग महेन्द्र शाहको प्रेम प्रसङ्ग उत्कर्षमा थियो, अर्कोतिर राणाकी छोरीसँग युवराज महेन्द्रको विवाह हुन नदिने राजाको धम्की । अनि बरू राजगद्दी छोड्ने तर आफ्नो प्रेम मर्न नदिने युवराज मेहन्द्रको अडान। युवराज महेन्द्रलाई ससुरा हरिशमशेरले आडभरोसा दिइरहेका थिए। जमलस्थित सेतो दरबारमा भेटघाट र योजना बन्थे।

आफ्ना विश्वासपात्रलाई कुराकानीका लागि महेन्द्र पनि त्यहीँ बोलाउँथे । युवराज महेन्द्रले बाबुलाई राजीनामा पत्र बुझाइसकेका थिए। राजा त्रिभुवन पनि के कम, महेन्द्रको राजीनामा स्वीकृत गरी उनका भाइ हिमालयलाई राजा बनाउने भनिदिए। यसैबीच दरबारमा महेन्द्रलाई पदच्युत गरी गोरखा दरबार धपाउने र माइला छोरा हिमालयलाई उत्तराधिकारी बनाउने अभियान सुरू भयो।

प्रधानमन्त्री मातृका कोइराला राजाकै पक्षमा महेन्द्रलाई गोरखा पठाउने तयारीमा थिए। मातृका प्रधानमन्त्री भए पनि राजनीतिमा पकड भएका नेता बीपी नै हुन् भन्ने युवराज महेन्द्रलाई थाहा थियो। आफूमाथि आइपरेको सङ्कट समाधानका लागि महेन्द्रले गोप्य रुपमा वीपीसँग सहयोग मागेका थिए।

युवराज महेन्द्रले वीपीसँग भने,‘मलाई निकाल्ने अन्तिम योजना बनेको छ, तपाईंले रोक्नुपर्यो।’ वीपी महेन्द्रको गद्दीसिद्ध अधिकारको पक्षमा थिए। उनले प्रधानमन्त्री मातृकालाई कुनै हालतमा युवराजलाई गोरखा धपाउने त्यस्तो अप्रिय निर्णय नगराउन दबाब दिए। त्यही दिन वीपीले महेन्द्रलाई आश्वस्त पार्दै भनेका थिए,‘युवराजबाट राजीनामा नगर्नू र भाग्ने काम पनि नगर्नू, परिआयो भने हामी सैनिकको साथ लिएर कू सम्म गरौंला ।

राजाको जेठो छोरो गद्दीको उत्तराधिकारी हुने परम्परा जोगाउन गोप्य योजना बनाउँदै वीपीले आफ्ना विश्वासपात्र विश्वबन्धु थापासँग भने, ‘हेर न विश्वबन्धु, युवराज रत्नसँग बिहे गर्न नपाए क्राउन प्रिन्सको पदवी छोड्छु भन्दै छन्।

त्रिभुवन पनि आफूले खोजेकी केटीसँग विवाह गरेन भने उसको भाइलाई युवराज बनाइदिन्छु भनेर धम्क्याउँदै छन् । भोलि राजा हुने मान्छेले आफूले मन पराएकी केटीसँग विवाह गर्न नपाउने पनि हुन्छ त प्रजातन्त्रमा । म राजालाई सम्झाउँछु, भएन भने कसरी मिलाउने सोच्नुपर्छ। प्रेम गरेकी केटीसँग विवाह गरेको अभियोगमा कसैलाई गद्दी त्यागको सजाय दिनु त अति नै हुन्छ।’

‘सम्झाउँदा पनि राजाले मानेनन् भने के गर्ने ु? विश्वबन्धुको जिज्ञासासँगै वीपीले उपाय सुझाए, ‘आवश्यक परे सैनिक कु गरेर भएपनि उनलाई गद्दीको अधिकार दिलाउनुपर्छ।’

‘कु’ का लागि गोप्य योजना बन्यो। सैनिक अधिकारीसँग कुरा मिलाउने काममा खटिएका थापा भन्छन्, ‘वीपीको निर्देशन बमोजिम मैले जनरलहरुसँग कुरा गरें। उनीहरुले यो योजनामा वीपी र युवराज महेन्द्र एक ठाउँमा छन् भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्न उठाए।

हामीले सिनेमा देखाउने निहुँमा सैनिक अधिकारीहरुलाई गोप्य तबरबाट जय नेपाल हलमा बोलाउने, त्यहीँ वीपी र युवराज महेन्द्रले हात हल्लाएर दुवै एकसाथ रहेको सन्देश दिने।’ सैनिक कु गरेर त्रिभुवनलाई हटाउने र युवराज महेन्द्रलाई राजा बनाउने योजना अन्तिम चरणमा पुगिसकेको थियो। यसैबीच त्रिभुवन र महेन्द्रबीच कुरा मिल्यो। अनि त्यो योजना गुपचुप राखियो ।

अन्तिम समयमा आफ्नो अडानबाट पछि हटेर त्रिभुवनले भनेका थिए, ‘ठीक छ, प्रजातन्त्र उसलाई लागेको छ भने मलाई पनि लागेको छ। ऊ चाहेको केटीसँगै विवाह गरोस्, म रोक्तिनँ तर म विवाह समारोहमा सहभागी हुन्न। बम्बै जान्छु।’ राजाले आफ्नो फैसला सुनाइदिए।

त्रिभुवनले रत्नसँग छोराको विवाह त रोकेनन् तर विवाहको समयमा आफू चाहिँ बम्बैतिर हिँडिदिए। नयाँ दुलहीलाई नारायणहिटीमा भित्र्याउन दिएनन् । नागार्जुन दरबारमा बडागुरूज्यूकी दुलहीले रत्नालाई भित्र्याइन्।

त्यति बेलै राजा त्रिभुवनले कांग्रेसी नेताहरुसँग भनेका थिए, ‘वीपीले महेन्द्रका लागि मसँग निकै कर गरे। उनको राजीनामा स्वीकार नगर्न दबाब दिए। यिनीहरुले युवराजलाई के चिनेका छन्। यसले तपाईंहरुलाई धुरूधुरू रूवाउनेछ। मैले चिनेको छु यसलाई।’
-जगत नेपालद्धारा लेखिएको पहिलो संसद, वीपी–महेन्द्रको टकराव पुस्तकबाट