आर्थिक

मासिक नाफा अर्बौ नाघेपनि आयल निगम किन मूल्य घटाउदैन ?

काठमाण्डौ । मासिक नाफा आधा अर्बभन्दा बढी पुगिसके पनि आयल निगमले इन्धन मूल्य घटाएको छैन। निगमले नै यस महिनाको नाफा ५६ करोड ३८ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि यहाँको भाउ नघटाइने गरेकाले निगमको नाफा उच्च रहँदै आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य करिब ४४ अमेरिकी डलर छ । स्थानीय बजारमा भाउ नघटाउँदा लामो समय घाटामा रहेको ग्यास कारोबारमा समेत नाफा हुन थालेको छ।

‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा घटेकाले नाफा भएको हो,’ निगमका प्रवक्ता भानु खनालले भने । भारतीय आयल निगम (आईओसी)  ले पठाएको मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा निगमको नाफा २८ करोड १९ लाख रुपैयाँ छ ।

आईओसीले अंग्रेजी महिनाअनुसार दुई पटक मूल्य पठाउँछ । उसले सेप्टेम्बर १ मा पठाएको नयाँ मूल्यसूचीअनुसार ५६ करोड ३८ लाख नाफा हुने देखिएको हो । २०७१ साल असोज १३ देखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू भए पनि सधैं नेपालमा मूल्य समायोजन हुँदैन ।

नाफामा गएपछि निगमले सरकार र विभिन्न संस्थाबाट लिएको स्वचालित ३६ अर्ब ६६ करोड ऋण पनि चुक्ता गरिसकेको छ । निगमको अब कुनै दायित्व छैन । पछिल्ला दुई वर्षमा १५ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको बताउँदै बिहीबारको कान्तिपुरमा समाचार लेखिएको छ ।

निगमको तथ्यांकअनुसार ग्यास, पेट्रोल, डिजेललगायत सबैमा नाफा छ । चाडपर्वका लागि भनेर खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ छुट दिए पनि अन्यमा घटाएको छैन ।

छुट भएपछि सर्वसाधारणले प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँमा खरिद गर्दै आएका छन् । यसअघि प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ थियो । निगमले ग्यासमा ५० रुपैयाँ छुट दिए पनि प्रतिसिलिन्डर ग्यासमा १ सय ७ रुपैयाँ १३ पैसा नाफा छ । खाना पकाउने ग्यासको मूल्य सामान्य घटाए पनि पेट्रोल, डिजेल, मट्टितेलमा कुनै परिवर्तन गरिएको छैन ।

निगमको तथ्यांकअनुसार प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ ७२ पैसा, डिजेलमा १ रुपैयाँ २ पैसा, मट्टितेलमा १८ रुपैयाँ ८९ पैसा नाफा छ । हवाई इन्धन आन्तरिकतर्फ १७ रुपैयाँ ९२ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ २७ रुपैयाँ ९२ पैसा नाफा छ । नाफा भए पनि मूल्य समायोजनबारे कुनै योजना नभएको निगमले जनाएको छ।