बाग्मती

मनोरञ्जन क्षेत्रका श्रमिकलाई ट्रेड युनियनमा आबद्ध गर्नुपर्नेमा जोड

काठमाडौँ । मनोरञ्जन क्षेत्रमा कार्यरत करीब पाँच लाख श्रमिकलाई औैपचारिकरुपमा ट्रेड युनियनमा आबद्ध गर्नुपर्नेमा जोड दिइएको छ ।

मनोरञ्जन व्यवसाय, निर्माण कम्पनीमा संलग्न विभिन्न व्यवसाय, कृषिलगायत क्षेत्रलाई अनौपचारिकरुपमा लिइने गरिएको छ । विश्वास नेपाल नामक सामाजिक संस्थाले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले त्यस क्षेत्रलाई व्यवस्थित तथा श्रमिकको व्यावसायिक प्रत्याभूति, सीप, दक्षता अभिवृद्धिका लागि युनियनमा समावेश गरिनुपर्ने सुझाव दिए ।

नेपाल टे«ड युनियन काँग्रेसका नेता धु्रवचन्द्र गौतमले ट्रेड युनियन आन्दोलनको दुई दशक लामो सङ्घर्षपछि सामाजिक सुरक्षासम्बन्धी श्रम ऐन अहिले प्राप्त भएको बताउँदै त्यसले श्रमिकको सामाजिक सुरक्षा र व्यावसायिकतालाई संरक्षण गर्ने बताए ।

अधिकारकर्मी विनोद कार्कीले काठमाडौँ उपत्यकामा सञ्चालन भएका डान्स बार रेष्टुराँ, खाजाघरलगायत मनोरञ्जन क्षेत्रका श्रमिक तथा कामदारलाई औपचारिकरुपमा युनियनमा आबद्ध गर्नसकेमा श्रमिकलाई योगदानमा आधारित सेवा, सुविधा तथा सुरक्षा उपलब्ध गराउन सकिने विचार व्यक्त गरे ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले स्थानीय तहले व्यवसायीको व्यवस्थित दर्ता अभिलेख गरी उनीहरुलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै व्यवसायीले बैंकिग प्रणालीबाट कर्मचारीलाई भुक्तानी गर्ने गरेमा श्रमिकप्रति जिम्मेवार बनाउने बताए ।

सोही संस्थाका कार्यकारी निर्देशक बालकुमारी आलेले मनोरञ्जन क्षेत्रका कर्मचारीमाथि हुँदै आएको विभिन्न किसिमको शोषणलाई न्यूनीकरण गर्न त्यस क्षेत्रलाई औपचारिक क्षेत्रमा परिवर्तन गर्दा त्यसले सामाजिक सशक्तीकरणका क्षेत्रमा सहयोग पुग्ने विचार व्यक्त गरे ।