समाचार

ललितपुर महानगरपालिकामा नगर प्रहरी अपर्याप्त

ललितपुर । ललितपुर महानगरपालिकाको क्षेत्र पहिलेभन्दा दोब्बर भए तर, महानगरपालिकामा नगर प्रहरी संख्या थपिएको छैन ।

जनशक्ति अपर्याप्त हुँदा नगर प्रहरीलाई महानगरपालिकाको निर्णय कार्यान्वयन गर्न गाह्रो भएको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । तीसजनाको दरबन्दी भएकामा अहिले २३ जना नगर प्रहरी मात्रै कार्यरत छन् । उपमहानगरपालिका हुँदा १५ किलोमिटर क्षेत्रफल थियो । अहिले महानगरपालिकामा सात वटा वडा थपिएर ३२ किलोमिटर भएको छ । नयाँ क्षेत्र थपिँदा जिम्मेवारी थपिए पनि आफूहरुलाई काम जनशक्ति र साधन दुवै कमी भएको उनी बताउछन् ।

उनी भन्छन् – “हामीले जिम्मेवारी थपिएकाले जनशक्ति थप गर्न जनप्रतिनिधिलाई पनि भनिरहेका छौँ।”

उपमहानगरपालिका हुँदादेखि नै जनशक्ति कम भएकामा क्षेत्र बढ्दा जनशक्तिको अझै कमी भएको हो ।

पहिले महानगरपालिकाको भवन सुरक्षाका लागि गार्डको छुट्टै दरबन्दीको व्यवस्था भए पनि अहिले छैन । ऐनले पनि स्थानीय निकायको सम्पत्तिको सुरक्षाको जिम्मेवारी नगर प्रहरीलाई दिएको छ । अहिले दैनिक छ÷सातजना मुख्य भवनको सुरक्षार्थ खटिने गरेका छन् ।

सडक व्यापारीले नगर प्रहरीको आँखा छलेर सडकको बीच भागमा व्यापार गर्छन् । नगर प्रहरी दैनिक रुपमा बजार व्यवस्थापनमा खटिनुपर्छ । उनी भन्छन् – “हामीले गर्नुपर्ने धेरै काम भए पनि जनशक्ति अभावले अपेक्षाअनुसार गर्न सकेका छैनौँ ।”

स्थानीय निकायको भवनको सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा, महानगरपालिकाको निर्णय कार्यान्वयन, बजार व्यवस्थापन, पार्किङ व्यवस्थापनलगायतका जिम्मेवारी नगर प्रहरीको काँधमा छ ।