पु.समाचार

माईतीघर मण्डलाको कालो पेटिकोट संसदमा छिर्यो

काठमाडौं । राजधानीको माईतीघर मण्डलामा शनिबार भएको कालो पेटिकोट सहितको अर्धनग्न प्रदर्शनले संसदमा प्रवेश पाएको छ । मंगलबार सत्तारुढ दलका सांसद खगराज अधिकारीले मण्डलाजस्तो पवित्र स्थानमा नाङ्गो प्रदर्शन गरिएको टिप्पणी गरेका हुन् ।

सांसद अधिकारीले बलात्कारीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने बताए । बलात्कारीलाई हदैँसम्मको कारवाही गरिनुपर्ने बताउदैँ प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई सांसद अधिकारीले प्रश्न गर्दै भने, संविधानमा फाँसीको व्यवस्था गर्न तयार हुनुहुन्छ ? । ‘मण्डला जस्तो पावन भूमिमा नाङ्गा प्रदर्शन गर्न हुन्छ कि हुँदैन ? मण्डला भनेको खुरुखुरु उफ्रने ठाउँ हो कि सम्मान गर्ने पावन भूमि हो ?’ अधिकारीको प्रश्न थियो ।

शनिबार सावित्री सुवेदी, दिया भण्डारी लगायत युवती तथा महिला अधिकारकर्मीले बलात्कारीलाई फासीको सजाय दिनुपर्ने माग गर्दै कालो पेटिकोट लगाएर अर्धनग्न प्रदर्शन गरेका थिए ।