राजनीति

ठूला भ्रष्टाचारी र तस्करलाई देखिने गरी कारवाही गर्नुपर्नेमा जोड

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केन्द्र र स्थानीय तहमा अधिकार बाँडेर केन्द्र र स्थानीय तहलाई जोड्नुपर्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौँ जिल्ला सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै नेता केसीले एमाले र माओवादीको एकता विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको समर्थन गर्दै सो एकतालाई पूँजीवादी एकता भने ।

उनले यातायातमा भएको एकाधिकार हटाएर सरकारले राम्रो काम गरेको बताउँदै अब सत्तामा रहेका ठूला भ्रष्टाचारी र तस्करलाई जनताले देख्नेगरी कारवाही गर्नुपर्नेमा जोड दिए । उनले वार्षिक रुपमा विदेशबाट आउने रु सात खर्बले अब देशलाई धान्न नसक्ने समेत बताए ।

राष्ट्रिय जनमोर्चाका नेता रश्मिराज नेपालीले देशमा वामपन्थीको सरकार भए पनि भ्रष्टाचार, महँगी र कालोबजारी बढेको तथा राष्ट्रियता, सार्वभामिकता र अखण्डता कमजोर बनेको विचार राखे ।