राजनीति

कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छः सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको आज स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र एकता आवश्यक रहेको बताए । “अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ, आउने चुनावमा जितिन्छ,” उनले भने ।

सभापति देउवाले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पार्टीभित्र आफ्नै नेतालाई हराउन आफ्नै नेताहरु लाग्दा धेरै स्थानमा पराजय बेहोर्नु परेको उल्लेख गरे ।

चुनाव हारेको छ भन्ने मानसिकता त्यागेर पाँच वर्षभित्र काम गरेर हारलाई विजयमा परिणत गर्न लाग्नुपर्ने उनले बताए । गुट–उपगुट त्यागेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसका लागि वर्तमान अवस्था चुनौतीपूर्ण रहेको बताए । “वर्तमान चुनौतीको सामना गर्दै कम्युनिष्ट शक्तिहरुसँग लड्न काँग्रेसीहरु एक हुनु जरुरी छ,” उनले भने ।
काँग्रेस उपसभापति बिमलेन्द्र निधिले कम्युनिष्टहरु बीचको एकतामा आत्तिनुभन्दा आफ्नै एकतामा ध्यान दिएर संगठन मजबुत पार्न लाग्नुपर्ने बताए । “कम्युनिष्टहरु एक भए अब हामी ढिक्का हुन बाँकी छ, भोलिका लागि सोचेर एक भएर अघि बढौँ,” उनले भने ।

सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनलाई लक्ष्यमा लिएर अहिलेबाट नै खाका सहितको कार्यक्रम लिएर जनताका माझ जान आवश्यक रहेको बताए । “आगामी निर्वाचनमा अहिलेको भन्दा १० देखि १२ प्रतिशत मत बढ्ने गरेर संगठन निर्माणमा लागौँ,” उनले भने ।

केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाल महिला संघ अध्यक्ष उमा रेग्मी लगायतले निर्वाचनमा भएको पराजयबाट पाठ सिकेर अघि बढ्नुपर्ने बेला आएको बताए । विसं २०६३ जेठ १० गते स्थापना भएको सांस्कृतिक संघले काँग्रेसले गरेका कामलाई गीत, कविता, गजलमार्फत आम जनतामाझ लैजाँदै आएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताए ।