राजनीति

‘नीति तथा कार्यक्रम परिवर्तनको मार्गचित्र’ : नेता भट्टराई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेश भट्टराई सरकारको नीति तथा कार्यक्रम समृद्धि र परिवर्तनको मार्गचित्र भएको बताएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले परिकल्पना गरेको समाजवादोन्मुख भावी समृद्ध नेपालको मार्गचित्र नीति कार्यक्रममा पाइएको बताए ।

उनले ‘सिद्धान्त र इतिहासको मृत्यु’ भयो भन्ने भ्रान्तिलाई प्रचार गरेर राज्यलाई दलालले कब्जा गर्ने तथा राज्य र जनताबीचमा सदैव शत्रुतापूर्ण सम्बन्ध बनाइरहने मान्यता कुनै पनि बहाना र मूल्यमा हामीलाई स्वीकार्य छैन भन्दै नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीलगायतमा राज्यको नेतृत्वदायी भूमिकालाई स्वीकार गरेको उल्लेख गरे । यही जेठ ७ गते राष्ट्रपतिबाट संघीय संसद्मा प्रस्तुत सो नीति तथा कार्यक्रममाथि सांसदले बोल्नेक्रम आज सकिएको छ ।