राजनीति

सरकारका सय दिन ‘सामान्य गति, दर्जन विसंगति’: नेपाली काँग्रेस

भीष्मराज ओझा/काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका १०० दिनलाई सामान्य गति दर्जन विसंगति भनेर टिप्पणी गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक वक्तव्यमार्फत सरकारका १०० दिनलाई आफ्नो पार्टीले निरुत्साहित ढंगले टिप्पणी गर्न नचाहेको भन्दै सरकारका कमीकमजोरी औँल्याएर ऐना जस्तै देखाउनु प्रतिपक्ष दलको कर्तव्य भएको बताएका छन् ।

प्रवक्ता शर्माले वर्तमान सरकार गठनका बेला प्रधानमन्त्रीले सांसद पदको शपथ नगरी प्रधानमन्त्री पदको शपथ गर्न मिल्दथ्यो कि मिल्दैन थियो भन्ने प्रश्न गर्दै ईश्वर, जनता र देश कसैको नाममा पनि शपथ नगर्नु विसंगतिको शुरुआत भएको भनी टिप्पणी गरेका छन् ।

एकातिर मुलुक संघीयतामा जाने र अर्कोतिर प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रिकृत गरिएको कार्य अर्को विसंगतिपूर्ण कदम भएको प्रवक्ता शर्माको टिप्पणी छ । सरकारले संविधान संशोधनलाई सत्ताको बार्गेनिङ गर्ने उपरकणका रुपमा प्रयोग गरेको आरोप लगाउँदै उनले संविधान संशोधन प्रस्ताव ल्याउँछु भन्ने तर नल्याउने अर्को विसंगति भएको बताएका छन् ।

सरकारले स्वेतपत्रमा अर्थतन्त्रका नकारात्मक पक्षमात्र देखाएर ढुकुटी रित्तो रहेको र अर्थव्यवस्था निराशा छ भन्ने अनि त्यही अर्थतन्त्र राम्रो रहेको आधारमा नीति तथा कार्यक्रममा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राख्नु दोहोरो चरित्र भएको प्रवक्ता शर्माको टिप्पणी छ ।

उनले सरकार गठन भएको १०० दिन बित्दा पनि न्यायालयलाई नेतृत्वविहीन अवस्थामा राखेको र प्रधानन्यायाधीशको नियुक्त गर्ने टुंगो लगाउन नसक्नु न्यायालयमाथिको अन्याय हो भनेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले प्रदर्शन गरेको चरित्रले यसअघि राष्ट्रवादका सम्बन्धमा अभिव्यक्त भएका अभिमतलाई खण्डित गरेको प्रवक्ता शर्माको टिप्पणी छ ।

सरकारबाट कर्मचारी प्रशासनलाई मनोबल बढाउनेभन्दा पनि गिराउने भूमिका निर्वाह भएको उल्लेख गर्दै उनले वर्तमान सरकारको नेतृत्वले निर्वाचनका बेला अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण र सन्तुलन कायम गर्छौं भनेको स्मरण गर्दै सरकार गठनको १०० दिनमा महँगी उकालो लागेको बताए ।

काँग्रेसलाई प्रतिपक्ष दल नरहेको भनी सर्वजनिक भएको प्रधानमन्त्रीको टिप्पणीलाई प्रवक्ता शर्माले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दल हुने र त्यस्तो दलले सरकारका कमीकमजोरी औँल्याइरहने अवगत गराए ।

यस अवधिमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा नीति राम्रो भए पनि कार्यक्रम नभएको टिप्पणी गर्दै उनले कुनै आधारबिना काम अघि सारेको र एक वर्षमा के काम कसरी गर्ने भनी कहीँ स्पष्ट उल्लेख नगरेको टिप्पणी गरे ।

जिम्मेवार प्रतिपक्षका नाताले काँग्रेसले सरकारका राम्रा काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको अवगत गराउँदै प्रवक्ता शर्माले प्रतिपक्ष दलले सरकारका कमीकमजोरी र विसंगतिलाई ऐनाकारुपमा चित्रण गरेर सघाउने हो भने ।