मनोरञ्जन

संगीतकर्मी संघको महाधिवेशन शनिवार

काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ ।

दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ ।

यहाँ बिहीबार आयोजित पत्रकार सम्मलेनमा संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत तथा संगीतको विकास र प्रवद्र्धनमा संघ क्रियाशील रहेको बताउँदै देशभरका संगीतकर्मीलाई एकताबद्ध गरी उनीहरुको अधिकारलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले रोयल्टीको व्यवस्थित अभिलेख राखी उचित वितरण गर्ने कार्य हुन नसकेकामा चिन्ता व्यक्त गरे । संस्थाका उपाध्यक्षद्वय राजेन्द्रकुमार कार्की र उमा श्रेष्ठले कलाकार देशका महत्वपूर्ण अंग भएको बताउँदै उनीहरुलाई समस्या परेको बेलामा राज्यका तर्फबाट हेर्नुपर्ने र उनीहरुका रचना र क्षमताको आधारमा रोयल्टी उपलब्ध गराउन माग गरे ।

विसं २०६२ मा स्थापित उक्त संघमा नेपाली लोकगीत, आधुनिक गीत, चलचित्रका गीतमा संगीत भर्ने कलाकार आबद्ध छन् । संघले हालसम्म छवटा प्रदेशमा प्रदेशस्तरीय कमिटी गठन गरेको छ ।