आर्थिक

कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

नेपालगञ्ज । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी लामो समयसम्म केन्द्रीय प्रशासनमा रहन नसक्ने भएकाले यसको व्यवस्थापन छिटो हुने बताएका छन् ।

यहाँ आज आयोजित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको प्रदेश ५ स्तरीय भेला र प्रशिक्षणको उद्घाटन गर्दै उनले जनताको ८० प्रतिशत काम प्रदेश र स्थानीय तहबाट हुने भएकाले कर्मचारी व्यवस्थित भएमा मात्र आधिकारिक ट्रेड युनियन बलियो हुन सक्छ भने ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, निजामती कर्मचारी युनियन संघ केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेललगायत वक्ताले पनि बोलेका थिए ।

त्यस अवसरमा आधिकारिक ट्रेड युनियन बाँकेले प्रकाशन गरेको ‘निजामति चौतारी’ नामक स्मारिकाको विमोचन गरिएको थियो । भेला तथा प्रशिक्षण कार्यक्रममा संघीय र प्रदेशको निजामती सेवा ऐन, कर्मचारी समायोजन नियमावली र ट्रेड युनियनको प्रादेशिक स्वरुपका विषयमा छलफल गर्नाका साथै सहभागीलाई प्रशिक्षित गराइएको थियो ।