शिक्षा

सबै विद्यालयमा अंग्रेजीबाट पठन–पाठन गर्ने तयारी

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ ।

गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो ।

वडामा रहेका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने पूर्वतयारी स्वरुप आधारभूत तहका अंग्रेजी शिक्षकका लागि पाँच दिने अभिमुखीकरण तालीम सञ्चालन गरिएको छ । अंग्रेजी माध्यमको पाठ्यक्रम, पूर्वतयारी, शैक्षिक सामग्रीको तयारी, कक्षा व्यवस्थापनलगायतका विषयमा शिक्षकको मानसिक तयारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको वडासचिव चित्र सुवेदीले बताए ।

अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्नका लागि कक्षा १ मा भर्ना भएका विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गरिसकिएको वडा शिक्षा समितिले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयले पनि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।