समाचार

एक वर्षमा सबै कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षपछि बाध्यताले रोजगारीमा नेपाली विदेश जान नपर्ने तरीकाले काम भइरहेको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेण्टर नेपाल रासस शाखाद्वारा संयुक्त रुपमा आयोजित प्रेस चौतारी नेपाल, रासस शाखाको पुरस्कार वितरण र सम्मान गर्दै तथा श्याम रिमालको कम्पकाव्य ‘बारपाक’ सार्वजनिक गर्दै मन्त्री विष्टले एक वर्षभित्र नै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिए ।

उनले भने, “सय दिनमा सरकारले जनताले अनुभूति गर्ने तरीकाले काम गरेको छ, सरकारले अहिले १०० मिटरको दौडको हिसाबले काम गरेको छ, यही तरीकाले सरकारले म्याराथुन दौडसम्म दौडेर काम गर्न चाहेको छ ।”

उनले सरकारको नीति कार्यक्रम परम्परागत रुपमा नभई देश र जनताको समृद्धिका लागि आएको स्पष्ट गर्दै सरकारले दिएका सेवाको परिणाम आएपछि देशले आर्थिक उचाइ लिई विकास र रोजगारीमा वृद्धि हुने र नेपाली नागरिकले गौरव गर्ने दिन आउने बताए । मन्त्री विष्टले थपे, “खान, लाउन नपाउने गरीब नेपाली होइन, समृद्ध देशका जनताका रुपमा गौरव गर्ने देश बनाउँछौँ ।
मन्त्री विष्टले समाचार बैंकका रुपमा राससले काम गरिरहेकामा सन्तोष व्यक्त गर्दै श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा र उचित पारिश्रमिकको व्यवस्थाका लागि मन्त्रालयले उचित भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले समाचार बैंक राससले निकै महत्वपूर्ण योगदान दिएको र आगामी दिनमा पनि क्रियाशील भएर काम गर्नुपर्नेमा जोड दिए ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले राससलाई आत्मनिर्भर बनाउन र समाचार बैंकको रुप दिन सरकारले पनि काम गरिरहेको बताउँदै राससले आगामी दिनमा पनि आधिकारिक र विश्वसनीय समाचार दिइरहनुपर्ने औँल्याए ।

उनले सरकारी सञ्चारमाध्यमले राष्ट्र र राष्ट्रका नागरिकको समृद्धिका पक्षमा समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले  आधिकारिक र विश्सनीय समाचार समिति तथा समाचार बैंकका रुपमा रहिरहने उल्लेख गरे । राससका महाप्रबन्धक ओपेन्द्र शर्मा र नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले रासस समाचारको मुहान भएको हुँदा विकट क्षेत्रका नसमेटिएका समाचारलाई समेत आगामी दिनमा थप प्राथमिकता दिने उल्लेख गरे ।