कृषि

बालीमा लाग्ने रोगप्रति सजग छैनन् किसान

ललितपुर । नेपालका अधिकांश किसान बालीमा लाग्ने रोगको उपचारका लागि सजग छैनन् ।

बालीमा लागेको रोगले बोट नै नष्ट भइसकेपछि मात्रै किसान रोगको जाँच गर्नका लागि प्रयोगशाला पुग्ने गरेको नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको बाली रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बालीमा रोग लाग्नासाथ समाधान सम्भव भए पनि किसान ढिलो आउँदा बाली नष्ट भइसक्ने महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धरले बताए । बालीमा कुनै पनि खालको समस्या देखिनासाथ किसान एग्रो भेट पुग्ने गरेका छन् ।

एग्रो भेटले हेर्दै नहेरी किसानलाई बिरुवामा प्रयोग गर्न विषादी दिन्छन् । एकथरी समस्या र अर्को उपचार हुँदा रोग नियन्त्रण नहुने गरेको उनी बताउँछन् । उनी भन्छन्, “विषादीले असर नै नदेखाएपछि एग्रोभेटले यहाँ जान भन्छन् र किसान हामी कहाँ आउनुहुन्छ ।”

फरक किसिमका बालीमा फरक खालका रोग लाग्ने वैज्ञानिक मानन्धर बताउँछन् । कतिपय रोग पहिले सानो रुपबाट शुरु भएर पछि बालीको सबै भागमा फैलन्छ । बोट नै कुहाउने वा सुकाएर उत्पादन ठप्प गर्ने खालका रोग धेरै छन् । कतिपय अवस्थामा रोगले नभएर कीराले बोटमा आक्रमण गर्दा बिरुवामा असर देखिन्छ ।

मानन्धर भन्छन्, “यहाँ किसान आएपछि नै हामी रोग वा कीरा पत्ता लगाएर समाधानको उपाय बताउँछौं । अरु देशबाट बिरुवा वा बीउ ल्याउँदा कतिपय खालका रोग पनि सँगै नेपाल भित्रिरहेका छन् ।”