कृषि

अलैँची खेतीमा डिल्लीरामका सपना

तेह्रथुम । विसं २०३५ तिर अलैँची खेती गर्ने चलन शुरु हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ६३ वर्षीय डिल्लीराम ढकाललाई केही थाहा थिएन । अलैँचीे खेती गरेर बिहान बेलुकाको छाक सकिन्छ भन्ने उनलाई विश्वासै थिएन ।

गाउँका अन्यले अलैँची खेती थालेपछि ढकालले पनि लहलहैमा खेती शुरु गरे । तिनै व्यक्ति अहिले अलैँची खेतीमा व्यस्त छन् । उनी बिहानदेखि साँझसम्मको समय अलैँची बगानमा स्याहार गरेर बिताउँछन् । अहिले ढकालको अलैँचीबाहेक अरु कुनै खेती छैन ।

“आम्दानीको मुख्य स्रोत भनेकै अलैँची हो,” उनले भने । अलैँची खेतीबाटै अब आफ्नो परिवारको जीवन चल्छ भन्ने ढकालको बुझाइ छ । अलैँची नै उहाँको जीवनको आशा र भरोसा हो । ढकालले अलैँची खेतीमा सपना सजाएका छन् । अलैँची खेती गर्दै करीब चार दशक बिताएका उनले अहिले आफूसँग भएको सबै ५० रोपनी जमिनमा अलैँची खेती लगाएका छन् ।

“अलैँचीबाटै कमाइ गरेँ र सम्भावना पनि देखेँ”, उनी भन्छन्, “सबै जमिनमा अलैँची खेती लगाएको छु ।” उनले आफूसँग भएका बारीमा समेत अलैँची खेती लगाएका छन् । विसं २०४० सालतिर अलैँची प्रतिमन रु ३०० देखि रु ४०० मा कारोवार हुन्थ्यो । अन्य बालीभन्दा कम जनशक्ति लाग्ने, थोरै चिस्यान जमिन भए राम्रो उत्पादन हुने, धेरै मेहनत गर्नु नपर्नेलगायत कारणले त्यसबेलादेखि क्रमशः अलैँची खेतीमा आकर्षित भएका ढकालले पहिलोपल्ट १० मन अलैँची फलाउँदा प्रतिमन रु २८ हजारका दरले मूल्य पाए ।

पाँच वर्षयता आफूले अलैँची मात्रैको व्यावसायिक खेती गरेर आम्दानी लिने बाटोमा लागेको ढकाल बताउँछन् । “यही खेतीबाट जीवनमा थोरै आर्थिक प्रगति मिल्यो,” उनले भने, “त्यसैले सजिलो र राम्रो सम्भावनासमेत भएको बाटोका रुपमा अलैँचीलाई रोजेको हुँ ।”

केही वर्षयता अलैँचीमा देखिएका विभिन्न प्रकारका रोगको संक्रमणले हैरान बनाएको ढकाल बताउँछन् । ढकाल अलैँचीका समस्या समाधान गर्दै खेतीमा कुनै निराशा नराखी निरन्तर लागिरहेका छन् । बगानको स्याहार सुस्याहारका लागि उनी आफैँ खटिन्छन् । ढकालका छोरा र बुहारी पनि अलैँची बगानकै स्याहारमा खटिन्छन् । थप स्याहारका लागि एकजना अस्थायी कामदार राखेका छन् ।

“यसवर्ष अलैँचीबाट रु तीन लाख आम्दानी गरेँ,” ढकालले भने । अलैँची खेतीका कारण परिवार चलाउन कुनै सकस नभएको उनको भनाइ छ । अन्नबाली लगाउने जमिनमा अलैँची खेती लगाउनुभएका ढकाल भन्छन्, “पहिले धान फलाउने प्रतिष्पर्धा हुन्थ्यो, अहिले अलैँची कसले धेरै फलाउने भन्ने प्रतिष्पर्धा छ ।”

सिंगो गाउँ अलैँची खेतीमा लागेको छ । अलैँचीको खेती प्रविधिबारे रेडियोबाटै थाहा पाएको ढकालले बताए । अलैँची खेतीका समस्या र सम्भावनाबारे थाहा पाएपछि आफूलाई अझै व्यावसायिक रुपमा काम गर्न थप प्रेरणा मिलेको उनी बताउँछन् । अलैँची गुणस्तरीय नहुँदा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नसकिएको भन्दै उनले अलैँचीको गुणस्तर कायम राख्न आफू र गाउँका धेरै किसान सक्षम भएको बताए ।