आर्थिक

न्यायिक समितिमा उजुरी बढे

भीमदत्तनगर । स्थानीय तहमा उपप्रमुख एवं उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिमा उजुरी दिनेको संख्यामा वृद्धि हुँदै गइरहेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै वर्ष दिन हुन लाग्दा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिका गरी नौवटै स्थानीय तहमा घरेलु हिंसा, सामान्य झगडा, जग्गा विवादलगायतका उजुरी आउने क्रम बढेको यहाँका स्थानीय तहले जनाएका छन् ।

नेपालको संविधान धारा २१७ बमोजिम गरिएको उक्त व्यवस्थासँगै गठन भएका न्यायिक समितिका सेवाग्राहीका उजुरीका चाङ लाग्न थालेका छन् ।

विगतका सामान्य झैझगडाका लागि प्रहरी र अदालतसम्म पुग्ने स्थानीयवासी अहिले नगरपालिकामा न्यायका लागि आउन थालेको भीमदत्त नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सुशीला चन्द सिंहले जानकारी दिए ।

नगरपालिकाको न्याय समितिमा विभिन्नखालका मुद्दाको छिनोफानो हुन थालेको उपप्रमुख सिंहले जानकारी दिए । “अदालतसम्म पुगेका सम्बन्धविच्छेदजस्ता घटनामा पनि हामीले सहजीकरण गरेका छौँ ।” सिंहले भने, “दैनिक छ–सातवटा उजुरी आएकै हुन्छन् ।”

उनले न्यायिक समितिमा घरेलु हिंसा, जग्गाको साँध विवाद, घरबहाल विवाद, झैझगडाजस्ता उजुरी आउने गरेको जानकारी दिँदै प्रायः उजुरीमा मेलमिलाप गराएर पठाएको बताए ।

“सबैखाले मुद्दा आउँछन् ।” सिंहले भने, “मुद्दा आउने क्रम बढ्दै गएको छ ।”

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहले विगतमा इलाका प्रहरी कार्यालय झलारीमा न्यायका लागि आउने प्रायः मुद्दा अहिले नगरपालिकाको न्यायिक समितिमा आइरहेको जानकारी दिए ।

“यहाँ अझै १६ वटा मुद्दा विचाराधीन अवस्थामै छन्” प्रवक्ता सिंहले भन्नुभयो, “अहिलेसम्म १८ वटा मुद्दा मेलमिलाप गरेर पठाएको तथ्याङ्क छ ।” उहाँले पनि गाउँघरका झैझगडा, जग्गाको सीमा विवाद, नदीजन्य पदार्थको उत्खनन भएको भन्दै उजुरी दिन नगरपालिका आउने गरेको बताए ।

“अहिलेसम्म यहाँबाट नमिलेर अदालत कुनै मुद्दा पुगेका छैनन् ।” उनले भने, “न्यायिक समितिले टुङ्ग्याउन नसकेका मुद्दा अदालत जाने व्यवस्था छ ।”

त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता रानाले न्यायिक समितिमा दिनहुँजसो मुद्दा आउने गरेको बताए । “यहाँ आएका ७० वटा मुद्दामध्ये ५२ वटा मिलाएर पठायौँ ।” उपप्रमुख रानाले भने, “कृष्णपुर नगरपालिकामा अन्य नगरपालिकाको भन्दा बढी चाप छ ।” उनले बहुविवाह, विवाह दर्ता नगरेको, जग्गा विवादलगायत विभिन्न प्रकारका मुद्दा आउने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले प्रहरीमा उजुरी आउने संख्यामा धेरै कमी भने नआएको बताए । “न्यायिक समितिमा पनि मुद्दा गइरहेको भए पनि प्रहरीमा पनि संख्या घटेको छैन ।”

उनले भने, “कानूनी प्रक्रिया अझै बन्न बाँकी भएकाले पनि पीडितहरू यहाँ आइरहेकै छन् ।” प्रवक्ता सेटीले स्थानीय तहमा जनप्रतिनिधिले काम कारवाही गर्दा प्रहरीसित समन्वय गरिरहेको बताए ।