समाचार

सडक स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने

मनाङ । बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ ।

एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको हो ।

आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनीयाँ कम्पनी आफैले सडक स्तरोन्नति गर्ने निर्णय गरेको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अमृत घलेले बताए ।

बेँशीसहर–चामे सडक स्तरोेन्नतिको काम २०७४ भदौदेखि थाल्ने सम्झौता भएको थियो । सो कार्य कान्छाराम कन्सल्टेन्सीलाई रु २२ करोडमा ठेक्का दिइएको थियो । उक्त कन्सल्टेन्सीले सझौता अनुसार सडक मर्मतको काम गरिरहेको अवस्थामा सडक डिभिजन कार्यालय दमौलीले काम गर्न रोक लगाएको छ ।

विसं २०७५ असार मसान्तसम्ममा काम सक्ने सम्झौता अनुसार काम थालेको सडक स्तरोन्नतिको काम २०७४ फागुनदेखि सडक डिभिजन कार्यालयले रोक्का गरेको छ । उक्त कार्यको चिनीयाँ कम्पनीले सडक डिभिजनसँग सम्झौता गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताए ।

“जेठ मसान्तसम्म चिनीयाँ कम्पनीसँग सम्झौता हुन्छ,” उनले भने ।