खेलकुद

उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्स बिहीबारदेखि सुरु भएको छ । केन्द्रीयस्तरको यो प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भइरहेको छ ।
छात्र/छात्रातर्फ एथलेटिक्समा समान ५÷५, कराते र तेक्वान्दोमा समान ४÷४ तथा उसुमा समान ३/३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा ७ प्रदेशबाट ४६ का दरले ३ सय २२ खेलाडी सहभागी छन् । एथलेटिक्स र तेक्वान्दो लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, तेक्वान्दो सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भइरहेको छ ।
प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दै आईपीएलमा सानदार प्रदर्शन गर्दै नेपालको शिर उचो बनाएकोमा क्रिकेटर सन्दीप लामिछानेलाई धन्वादसहित बधाइ दिए । उपराष्ट्रपति पुनले घर बलियो बनाउन जसरी जग बलियो हुनु पर्छ त्यसैगरी यो प्रतियोगिता पनि नेपाली खेलकुदको जगलाई बलियो बनाउने महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा० ले खेलकुदको मेरुढण्ड नै विद्यालय भएको हुँदा यस्ता प्रतियोगिताले निरन्तरता पाउने बताए ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले ग्रास रुटबाटै प्रतिभावन खेलाडीको पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको धारणा व्यक्त गरे ।