प्रवास

क्यानडामा कुकुरलाई दुर्व्यबहार गरेको आरोपमा एक नेपालीलाई ९ महिना कैद (भिडियोसहित)

काठमाडौं । क्यानडाको पिटरवर्गमा एक नेपालीलाई घरमा पालेको कुकुरलाई पिटेको आरोपमा ९ महिनाको कैद सजायँ सुनाइएको छ । नेपाली मुलका दिप बिष्ट तीन पटकसम्म जनावरलाई दुर्व्यबहार गरेको आरोपमा दोषी ठहरिएका हुन् ।

यो सजायँ गत सोमबार पिटरवर्गको प्रान्तीय अदालतमा सुनाइएको थियो । त्यसअघिका अन्य तीन पटकको घटनामा भने प्रान्तीय अभियोजकको आग्रहमा उनको केस फिर्ता लिइएको थियो ।

बिष्टले कुकुरलाई लात्तिले हानेको र कुटेको दृश्यहरु उनको अपार्टमेन्ट बिल्डिङको सीसी क्यामेरामा कैद भएको थियो । अदालतमा उनीविरुद्ध सजायँ सुनाउने बेलामा उनी नेपालमा मुटुको उपचार गराइरहेकाले अदालतमा उपस्थित नभएको बिष्टका वकिलले बताएका थिए ।

जनवरीमा पिटरवर्ग छोड्नुअघि बेरोजगार रहेका बिष्ट ३०३ अलिमर स्ट्रिट स्थित एक अपार्टमेन्टको सातौं तल्लामा बस्थे । त्यहाँ उनले पालेको डिजे नामक तीन वर्षीय कुकुरलाई लात्तिले हाने, पन्च हान्ने र हावामा फालिदिने गरेको दृश्य देखिएको थियो ।

तीन फरक मितिमा लिइएका तस्वीरहरुमा उनले गत वर्षको सेप्टेम्बर र अगस्टमा कुकुरलाई दुर्व्यवहार गरेको दृश्य अदालतमा देखाइएको थियो । उक्त भवनकोे भर्‍याङको भित्तामा कसैले रगतको दाग देखेपछि मात्रै सेक्युरिटी क्यामेरा राखिएको थियो ।

न्यायाधीश पिटर हिस्कक्सले उक्त भिडियोले कायरता र घृणित कार्य देखाएको बताएका छन् । यस्तै बिष्टकी वकिल एन्जेला म्याकग्राथले उक्त कार्य डरलाग्दो र भयानक रहेको बताएकी थिइन् ।

अदालतमा उनले बिष्टले आफ्नो कार्यमा पछुतो मान्दै लेखेको चिठी पढेर सुनाएकी थिइन् । जसमा उनले आफ्नो कुकुरलाई राम्रो बनाउनका लागि तालिम दिन मात्रै खोजेको उल्लेख गरेका थिए । उनले अदालतलाई उदारता देखाउन समेत आग्रह गरेका थिए ।

तर, न्यायाधीशले माफी दिन मानेनन् र उनलाई तीनपटक ९० दिनको दरले गरी नौ महिना जेल सजायँ सुनाएका छन् । साथमा उनलाई जीवनभर घरपालुवा जनावर पाल्न प्रतिबन्ध लगाइएको छ ।

क्यानडामा जनावरलाई हानी पुर्‍याएमा सबैभन्दा धेरै सजायँ ६० हजार डलर र दुई वर्षको कैद सम्म हुन्छ । उक्त कुकुर अहिले बिष्टको पूर्वपत्नीको संरक्षणमा छ । बिष्टलाई पक्राउ गर्नको लागि वारेन्ट जारी गरिएको छ ।

-ग्लोबल न्यूजको सहयोगमा

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्