विचित्र संसार

बिहे गरेको १५ मिनेटमै डिभोर्स !

दुबई । दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् ।

‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद भएको हो ।

बेहुलीका पिताले बेहुला पक्षसँग २० हजार पाउन्ड रकम माग गरेका थिए । प्रचलनअनुसार नै बेहुलीका पिताले रकम माग गरेको र बेहुलापक्षले पनि उक्त रकम दिने सहमति जनाएपछि विवाह भएको थियो ।

विवाहकै क्रममा बेहुलापक्षले ५० प्रतिशत रकम बुझाएको थियो । विवाह दर्ता भइसकेपछि बाँकी रकमका लागि बेहुलीका पिताले दबाब दिएको उक्त अखबारले जनाएको छ । बेहुलाले पाँच मिनेटको पैदल दुरीमा पार्क गरिएको आफ्नो कारमा रकम रहेको जनाउँदै बेहुलीका पितालाई ‘पार्किङ’ मै गएर बाँकी रकम तिर्ने बताएका थिए ।

तर, बेहुलीका पिताले कारमा राखेको रकम लिन अरु कसैलाई पठाउन दबाब दिदैं पुरा रकम नपाएसम्म आफूले छोरीलाई लैजान नदिने बताएपछि तनाव बढेको थियो ।

दुलाहा पक्षले बेहुलीका पिताको यस्तो दबाबलाई ‘आफ्नो अपमान’ महसुस गर्दै तत्काल सम्बन्धबिच्छेद गरेको बताइएको छ ।

समाचारमा बेहुला, बेहुली र उनीहरुको परिवारको परिचय खुलाइएको छैन । -एजेन्सी