सूचना प्रविधि

दुर्गममा टेलिकमको सेवा विस्तार

बागलुङ । जिल्लाका दुई दुर्गम गाउँमा पहिलोपटक मोबाइल सेवा पुगेको छ । गलकोट नगरपालिका–१० को रमुवा र बडीगाड गाउँपालिका–८ खोलाखर्कमा नेपाल टेलिकमले सेवा विस्तार गरेको हो । सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित ती दुवै ठाउँमा यसअघि कुनै पनि कम्पनीको ‘जिएसएम’ मोबाइल सेवा पुग्न सकेको थिएन ।

रमुवाका डेढ सय र खोलाखर्कका करीब चार सय घरधुरी मोबाइल सेवाबाट लाभान्वित भएको नेपाल टेलिकम बागलुङ कार्यालयले जनाएको छ । रमुवाको उपल्लो खोरिया र खोलाखर्कको बतासेडाँडामा टावर राखी मंगलबारदेखि सेवा शुरु गरिएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।

“जिल्लामै बढी दुर्गम मानिने ठाउँमा सेवा पुगेको छ,” उनले भने, “अन्यत्र पनि सेवा विस्तारको काम अघि बढेको छ ।” मोबाइल सेवा पुगेसँगै ग्राहकले तत्काल इन्टरनेटको लागि ‘टुजी’ सेवा लिन सक्नेछन् । पछि तीव्र गतिको सेवाका लागि ‘थ्रिजी’ प्रविधि दिने योजना टेलिकमले बनाएको छ ।

‘जिएसएम’ मोबाइल सेवा पुगेपछि दुर्गमका ग्राहकले पनि ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा लिन पाउने भएका छन् । “विकट भूगोल भए पनि हामी हाम्रो जिम्मेबारीमा दृढ छौँ,” प्रमुख इन्जिनियर शर्माले भने, “जिल्लाका प्रत्येक गाउँबस्तीमा सेवा पु¥याउँदैछौँ ।” उनका अनुसार तत्काल सेवा दिने गरी गलकोट नगरपालिकाकै काँडेबासमा टावर निर्माणको काम अघि बढेको छ ।

यस्तै, बागलुङबाहेक म्याग्दी, पर्वत र मुस्ताङमा पनि सेवा विस्तारको काम धमाधम भइरहेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा पनि केही दिनमै मोबाइल सेवा शुरु हुने कार्यालयका इन्जिनियर अमृत नेपालले बताए । मुनापछि म्याग्दीकै ज्यामरुककोटमा टावर निर्माण अघि बढाइनेछ । “धवलागिरि क्षेत्रका चारै जिल्लामा मोबाइलको पहुँच पु¥याउने लक्ष्य छ,” उनले भने ।

कार्यालयले यसअघि उपल्लो मुस्ताङ, बागलुङकै ढोरपाटन लगायतका कैयौँ दुर्गम ठाउँमा सेवा विस्तार गरिसकेको छ । धवलागिरिमा हाल रहेका ‘जिएसएम बिटिएस’ टावरलाई बढाएर १२० पु¥याउने योजना टेलिकमको छ । यही वर्ष थप हुने टावरको पूर्ण क्षमताले धवलागिरिका सबै गाउँबस्तीमा मोबाइल सेवा पुग्ने जनाइएको छ । सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकताका साथ काम भइरहेको छ ।

सेवा विस्तारसँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकम लागिपरेको छ । मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा दिन नयाँ प्रविधि जडान गर्ने काम भइरहेकोछ । सेवा मात्र नथपेर गुणस्तरलाई समेत विशेष ध्यान दिइएको वरिष्ठ इन्जिनियर शर्माले बताए । मोबाइल सेवा पुगेका अधिकांश ठाउँका ग्राहकले अत्याधुनिक प्रविधिको ‘थ्रिजी’ सेवासमेत प्रयोग गर्न पाएका छन् । टेलिकमले धवलागिरि क्षेत्रका ७३ ठाउँबाट ‘थ्रिजी’ सेवा दिने तयारी गरेको छ ।